धनकुटा । गत असार पहिलो हप्ता न्यूनतम प्रतिकिलो दश रुपैयाँभन्दा कम रहेको गोलभेंडाको भाउ यतिबेला अचाक्ली बढेको छ । धनकुटा सदमुकामको बजार क्षेत्रमा प्रतिकिलो १ सय २० रुपैयाँ किलोसम्म किनबेच भइरहेको छ । बजारमा मूल्य बढेसँगै नेपाली किसानले गोलभेडाको उचित मूल्य पाउन थालेका छन् । किसानले बारीमै प्रतिकिलो १ सय रुपैयाँ भाउ पाउन थालेको धनकुटा–७ श्रीवानीका किसान मातृका राईले बताउनुभयाे । पछिल्लो समय गोलभेडाको भाउ देखेर उपभोक्ता मात्र होइन किसान समेत छक्क परेका छन् ।
दिनप्रतिदिन भाउ बढ्नुको मुख्य कारण पछिल्लो समय गोलभेडामा देखिएको रोगको संक्रमणले उत्पादनमा ह्रास आउनु उहाँको भनाइ छ । पछिल्लो समय गोलभेडामा रोग देखिएपछि किसान चिन्तित भएका छन् । त्यस्तै उत्पादन हुने सुरुवाति समयमा मुल्य सस्तिएपछि किसानले दोह्रोर्याएर खेती नगर्नुको कारण पनि हुन सक्ने धनकुटा नगरपालिका वडा नं. ४ ठोका गाउँका किसान अगमशेर राईले बताउनुभयाे ।
उहाँका अनुसार बजारस्थिर नहुँदा किसानले उपयुक्त भाउ पाउन सकेका छैनन् । अहिले भाउ बढेकोमा किसान हर्षितभन्दा पनि सचेत हुनुपर्छ । यसअघि बजारमा भारतीय गोलभेडाको बढी आपूर्ति हुँदा नेपाली किसानले आफूले उत्पादन गरेको गोलभेडाको उचित मूल्य पाउन सकेका थिएनन् । तर,पछिल्ला केहिदिनदेखि लगातार बढिरहेका गोलभेडाको मूल्यका कारण नेपाली कृषकले राहतको महशुस गरेका छन् ।
अहिले भारतबाट गोलभेडा नेपाल निर्यात भएको कारण किसानले उचित मूल्य पाएका व्यापारीको भनाइ छ । जिल्ला अधिकाशं स्थानीय तहमा गोलभेडाको व्यवसायिक खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताउनुभयाे । जिल्लामा उत्पादन हुने गोलभेडाको मुख्य बजार पूर्वी तराईका धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड रहेका छन् ।
annapurnapost