काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।
मङ्गलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गर्नुभयो । उहाँले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर गर्नुभयो ।
एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताउनुभयो । उहाँले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ ।
यो सफलताको कुरा हो । तर हाम्रा पार्टीका साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ । तर कथम कदाचित यो स्थिति फेरियो भने रु संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ । बहुमत कसैको छैन । हामीसँग बहुमतभन्दा निकै तल सिट छ । र भित्रका, बाहिरका अनेक शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।
यो देश बर्बाद पार्न सबैभन्दा पहिले यदि कुनै डाकाले बैंकमा डकैती गर्नपर्यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । त्यस कारण पहिले यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन् ।’
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताउनुभयो । कसैले पनि संस्थागतरूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उहाँको भनाइ छ । कुनै पनि बाहानामा पढ्ने काम नछोड्न उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गर्नुभयो । उहाँले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्त्वकाङ्क्षा बोक्न नहुने बताउनुभयो ।