काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले आफूहरु राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताउनुभएको छ ।
खानेपानी मन्त्री अब्दुल खानले आफूहरु राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताउनुभएको छ ।
जनमत पार्टीको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका मन्त्री खानले शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभएको हो । उहाँले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्नु नहुने बताउनु भयो । राष्ट्रपतिमा सहमति गर्नुपर्नेमा आफूहरुको जोड रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘राष्ट्रिय सहमतिकै कुरामा हामीले मुख्य रुपमा विश्वास राखेका छौँ अहिलेसम्म । मैले अहिलेसम्म थाहा पाएको छैन, हामीसँग छलफल हुने, कसैले हामीलाई डाकेको र कसैले हामीलाई बोलाएको ठूला पार्टीहरुले मलाई थाहा छैन । काँग्रेस वा एमाले गठबन्धनमा हाम्रो त्यतिधेरै चासोको विषय छैन ।
किनभने हाम्रो राष्ट्रपति, उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नेपनि कुरा छैन । अहिलेसम्म ठूला दलले सोच्नुपर्ने हो । हामी त राष्ट्रिय सहमतिकै पक्षमा छौँ । राष्ट्रपति भनेको देशको अनुहार हो । त्यसमा विवाद गर्नु हुँदैन । राष्ट्रपतिमा सहमति गरौँ भन्ने मेरो सोच हो ।’
मन्त्री खानले राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरुले आफूहरुसँग कुनै छलफल नगरेका बताउनु भयो ।