काठमाडौं I तनहुँको भानु नगर महोत्सवलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय आयोजना तथा उद्यम विकासमा लगानी अभाव झेल्नु नपर्ने अवस्था सिर्जना भएको बताएका छन्। उनले स्वदेशी पुँजी परिचालनलाई प्राथमिकता दिँदै १० अर्ब रुपैयाँ पुँजीको नयाँ लगानी कम्पनी स्थापना गरिएको जानकारी दिए।
अध्यक्ष ढकालले नेपालका पर्यटन, ऊर्जा, सूचना प्रविधि, र कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै स्थानीय उद्योगीहरूलाई लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरे। उनले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन र साझेदारी गर्न नयाँ कम्पनीले सहयोग गर्ने जानकारी दिए।
नेपाल सरकारले लगानीमा अवरोध मानिएका कानुन सुधार गरिरहेको बताउँदै ढकालले अहिले लगानीका लागि उपयुक्त समय रहेको औंल्याए। उनले रेमिटेन्समार्फत पर्याप्त वैदेशिक मुद्रा, बैंकिङ क्षेत्रमा तरलता, र सन्तुलित ब्याजदरले लगानीमैत्री वातावरण तयार गरेको धारणा व्यक्त गरे।
भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने र स्थानीय उत्पादनको प्रवर्द्धनमा महासंघले साथ दिइरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले भानु नगरको समृद्धिका लागि शुभकामना व्यक्त गरे।