काठमाडौं I नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। उनविरुद्ध तीन वटा अभियोगमा मुद्दा चलाउन अदालतमा पेश गर्न तयारी गरिएको छ।
सीआईबीको हिरासतमा रहेका प्रसाईंलाई प्रारम्भिक स्वास्थ्य परीक्षणको लागि चिरायु अस्पताल लगिएको थियो र त्यसपछि उनलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ।
प्रसाईंविरुद्ध साइबर अपराध, कागजात कीर्ते र मानहानीका आरोपमा अनुसन्धान भइरहेको छ। सीआईबी प्रवक्ता एवम् एसपी होविन्द्र बोगटीले जानकारी दिँदै भने, "प्रसाईंले 'फेक डकुमेन्ट' को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको हो।"
प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै भक्तपुरस्थित आफ्नो निवासमा युट्युबर सम्मेलन आयोजना गरेका थिए। उनले सोमबार फेसबुकमा एक भिडियो पनि सार्वजनिक गरेका थिए, जसमा ओलीको नाममा त्रुटि भएको पाइएको छ। उक्त भिडियो भाइरल भएपछि सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो।