काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आज आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले विदेशमा नेपालीको सम्पत्ति भएको खबर बाहिर आएको भन्दै नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशको सन्तुलित विकास गरी अहिले भइरहेको बसाइसराइलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाइ बिदा कटौती गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ ।
देशको सन्तुलित विकास गरी अहिले भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसमा एक चौथाइ बिदा कटौती गर्नुपर्छ ।’
सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीसमेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताउनुभयो ।