काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक प्रकरणमा प्रहरीले साइबर अपराध सम्बन्धी कानुन उल्लंघन गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले विहीबार जारी गरेको विज्ञप्तिमा गोपनीयता उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यलाई आपराधिक ठहरिने उल्लेख छ। प्रवक्ता बसन्तकुमार शर्माका अनुसार अपराध अनुसन्धानको गोपनीयता कायम गर्नुपर्ने प्रचलित कानुनको पालना नगर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही हुनेछ।
प्रहरीले तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजमार्फत सार्वजनिक भएको जनाएको छ। भुसालले तस्वीर पोस्ट गरेको स्वीकार्दै माफी मागेका छन्।
यस घटनाप्रति रास्वपाका नेताहरूले कडा आपत्ति जनाएका छन् भने गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग घटनाबारे स्पष्टीकरण माग गरेका थिए। कुँवरले तस्वीर कास्की प्रहरी हिरासतकै भएको र सुतिरहेको व्यक्ति रवि लामिछाने नै भएको पुष्टि गरेका छन्।
प्रहरीले फौजदारी न्याय प्रणालीको मापदण्डअनुसार तथ्य र प्रमाणमुखी अनुसन्धानमा प्रतिवद्ध रहेको बताएको छ।