पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ । यसरी प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । उत्कृष्ट तीनको मनोनयनमा परेका रोजीना र सुस्मिता बागलुङका र सावित्रा लमजुङ जिल्लाकाे रहेका छन् । बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले जनाउनुभयाे । यस अगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, कराँतेकी सुष्मी श्रेष्ठ रहेका छन् । भलिबलकी अरुणा शाहीले दुईपटकसम्म यो विधाको अवार्ड हात पार्नुभएकाे थियाे ।

रोजीना थापा मगर–आर्चरी
२०५९ सालमा जन्मिएकी रोजीना थापा मगरले २०७२ सालदेखि आर्चरी खेल्न सुरु गर्नुभएकाे हाे । स्व.लक्ष्मण कुमार श्रेष्ठको स्मृतिमा ०७३ सालमा आयोजना गरिएको राष्ट्रिय आर्चरी प्रतियोगितामा स्वर्ण पदक हात पार्नुभएकाे उहाँले ०७३ सालमै सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा दुई स्वर्ण पदक हात पार्नुभएकाे थियाे । ०७४ सालमा सम्पन्न स्व.लक्ष्मण कुमार श्रेष्ठको स्मृतिमा आयोजना गरिएको चौथो राष्टिय अर्चरीमा रजत पदक हात पार्नुभएकाे थियाे । उहाँले प्लस टु उत्तिर्ण गर्नुभएकाे छ । ०७४ सालमा सम्पन्न राखेप च्याम्पिएनशिपमा कास्य पदक हात पार्दै एशियन खेलका लागि छनौट भएकी थापाले सरकारले आवश्यक बजेटको व्यवस्था नगरिदिँदा प्रतियोगितामा सहभागि हुन भने पाउनुभएन ।
०७६ सालमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी उहाँले पदक हात पार्न भने सकिन्न । ०७९ सालमा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण हात पार्न सफल हुनुभयाे । दोस्रो गण्डकी प्रदेश स्तरिय खुल्ला आर्चरी प्रतियोगितामा समेत उहाँले काँस्य पदक हात पार्नुभएकाे थियाे ।

सुस्मिता थापा मगर – आइटिएफ तेक्वान्दो
२०६० सालमा बाग्लुङमा जन्मिएकी सुस्मिता थापा मगर आइटिएफ तेक्वान्दो खेलाडी हुनुहुन्छ । हाल खेल व्यवस्थापनमा स्नातक तहमा अध्य्यनरत थापाले ०७४ सालदेखि खेल्न सुरु गर्नुभएकाे हाे । पहिलोपटक ०७६ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुनुभएकाे उहाँले एक स्वर्ण र दुई रजत पदक हात पार्न सफल हुनुभयाे । ०७७ मा सम्पन्न २० औ सिनियर राष्ट्रिय च्याम्पियनशिपमा सहभागी उहाँले तीन रजत हात पार्नुभएकाे थियाे । ०७८ मा भएको पहिलो गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पटक हात पार्दै उत्कृष्ट खेलाडी घोषित हुनुभयाे । ०७९ मा सम्पन्न नवाैँ राष्ट्रिय खेलकुदमा एक स्वर्ण र एक रजत पदक हात पार्न सफल बन्नुभयाे ।

सावित्रा भण्डारी –फुटबल
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा २६ वर्षअघि लमजुङमा जन्मिनुभएकाे हाे । १२ वर्षको उमेरदेखि खेल्न सुरु गर्नुभएकाे उहाँ फुटबल भन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुनुहुन्छ । उहाँले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्र्तगत १०० मिटर दौडमा स्वर्ण जित्नुभएकाे थियाे ।
२०७० सालबाट फुटबल खेल्न सुरु गर्नुभएकाे उहाँले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गर्नुभयाे । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उहाँले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनुभयाे । त्यसपछि हालसम्म गरि उहाँले देशको प्रतिनिधित्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइ सक्नुभएकाे छ ।
०७० सालमा विभागीय एपिएफ क्लबमा आवद्ध उहाँ हालसम्म सोही क्लबमा आवद्ध हुनुहुन्छ । उहाँ भारतको क्लवमा समेत आवद्ध रहदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आउनुभएकाे छ ।
बैशाख २३ गते हुने अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिला सहित वर्ष खेलाडी पुरुष, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।
लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाउनुभयाे ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने रहेका छन् ।
नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम लगायतले समेत सघाउने तय भैसकेको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहने मञ्चले जनाएको छ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ ।