पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउने तयारी भइरहेको बताउनुभएकाे छ । पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले यस्तो बताउनुभएकाे हाे । प्रशासकीय भवन बनाउन करिब दुई अरब रुपैयाँ लाग्ने उहाँको भनाइ छ । यसका लागि स्रोतको खोजी भइरहेको र सरकारका अर्थमन्त्रीसँग पनि कुरा भइरहेको आचार्यले बताउनुभयाे ।

उहाँका अनुसार उच्च अदालत पोखराको अगाडि ४० रोपनी जग्गामा महानगरको प्रशासकीय भवन बनाउने तयारी छ ।
सुविधासम्पन्न कार्यालय भवन निर्माणले प्रशासनिक कार्यलाई चुस्त बनाउनुका साथै नागरिकलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा दिन मद्दत गर्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयाे । स्थानीय सरकारको प्रभावकारिता जनता माँझ अझै मजबुत बनाउने लक्ष्यसहित भवन निर्माण गरिएको उहाँले स्पष्ट पार्नुभयाे ।

आचार्यले भन्नुभयाे, ‘कतिपयले वडालाई ठूला भवन किन चाहिन्छ भनेर प्रश्न गर्छन् तर ठूला भवनले नै जनताका सेवा प्रवाहमा सहजता ल्याउँछ ।’आचार्यका अनुसार अब पोखरामा वडा नं ६ र ९ को भवन बन्न बाँकी छ भने केही वडाका भवन निर्माणाधीन अवस्थामा छन् । महानगरमा थपिएका वडाहरुको विकासमा पनि विशेष ध्यान दिइएको आचार्यले उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘विकासका हिसाबले १ देखि १७ सम्मका र अन्य वडा फरक प्रकृतिका छन्, सबै वडालाई एउटै प्रकृतिको बनाउन प्रयास गरिएको छ ।’
आचार्यले पोखराको न्यूरोडलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको समेत जानकारी दिनुभयाे । पोखराको फोहोर व्यवस्थापन सम्बन्धमा नयाँ वर्षदेखि नयाँ ढंगले नै अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयाे । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालय नजिकको सरकार भएको बताउनुभयाे । उहाँले महानगरले वडालाई धेरै भन्दा धेरै अधिकार दिएको भन्दै वडाले नै नै ५० लाखसम्मको योजना अघि बढाउन पाउने अधिकार रहेको स्पष्ट पारिन् । महानगरपालिका वडावासी र वडा कार्यालयकै सल्लाह र सुझावका आधारमा अघि बढ्ने उहाँले बताउनुभयाे ।
पोखरा–८ का वडाध्यक्ष रूद्रनाथ बरालले वडा कार्यालय पोखराकै मुटु भएको बताउनुभयाे । उहाँले १५ आनाको जग्गामा महानगरको ४० र तत्कालीन जिल्ला विकास समितिको ६० प्रतिशत बजेटबाट वडाभवन निर्माण गरिएको बताउनुभयाे । वडा कार्यालय लिफ्टसहितको बनेको उहाँको भनाइ छ ।
नयाँ कार्यालय भवन सञ्चालनमा आएपछि नागरिक सेवा प्रवाह थप सहज भएको उहाँको भनाइ छ । वडाको समग्र विकासका लागि निरन्तर क्रियाशील रहने भन्दै उहाँले नयाँ भवनले नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउने दावी गर्नुभयाे । स्थानीय सरकारको प्रभावकारी कामका लागि भौतिक संरचनाको विकास अपरिहार्य रहेको उहाँको भनाइ छ ।
यस भवनबाट वडावासीले सबै प्रकारका प्रशासनिक सेवा सहज रूपमा पाउने छन् । स्थानीय तहको सेवा प्रभावकारी बनाउन डिजिटल प्रणालीसमेत लागू गरिने बराले बताउनुभयाे । कार्यक्रममा पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुली, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, एमाले पोखरा–८ का अध्यक्ष दीपकराज घिमिरे, राप्रपा पोखरा ८ का अध्यक्ष का बाबुराम चालिसे, हातेमालो आमा समूहका अध्यक्ष अपीला बराललगायतले बोल्नुभएकाे थियाे । वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडासदस्य पवित्रा पौडेल केसीले र सञ्चालन वडासचिव झंकनाथ पौडेलले गर्नुभएकाे थियाे ।