पोखरा । १७ औं संस्करणको पोखरा म्याराथन फागुन छ मा हुने भएको छ । भूतपूर्व खेलाडी मञ्चले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगितामा विभिन्न ८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
पोखरा म्याराथनले यसै वर्ष अन्तर्राष्ट्रिय म्याराथनहरुको छाता संगठन ‘एम्स’बाट मान्यता पाएको छ । प्रतियोगितामा खुला म्याराथन (४२।१९५ किमी), हाफ म्याराथन (महिला) २१।०९७ किमी, १० किलोमिटर पुरुष र महिला दौड, ५ किलोमिटर विद्यालयस्तरीय छात्र–छात्रा दौड, ह्विलचियर तथा दृष्टिविहीन दौड (महिला, पुरुष) र ‘रन फर फन’ इभेन्ट हुने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार यसै संस्करणदेखि खुला म्याराथन विजेताले ५ लाख रुपैयाँ पाउनेछन् । अघिल्लो संस्करणमा पुरस्कार राशी ४ लाख रुपैयाँ थियो । यो नेपालमा हुने म्याराथन प्रतियोगिताको पुरस्कारमध्ये सर्वाधिक राशी पनि हो ।
म्याराथनमा दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । ‘प्रदेशबाट पनि आफ्नै खेलाडी उत्पादन गर्न प्रदेशस्तरीय धावकलाई पनि छुट्टै पुरस्कार राशीको व्यवस्था गरेका छौं’, अध्यक्ष पराजुलीले भन्नुभयाे ।
म्याराथनमा गण्डकी प्रदेशतर्फ पहिलो हुनेले ५० हजार, दोस्रो ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । महिला हाफ म्याराथन, १० किमी महिला र पुरुष दौड, ह्विलचियर तथा दृष्टिविहीन दौडको पुरस्कार राशीमा पनि वृद्धि गरिएको मञ्चले जनाएको छ ।
महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका अध्यक्ष पराजुलीले जानकारी दिनुभयाे । ‘सबै इभेन्टमा गरेर १७ लाख ५२ हजार रुपैयाँ हामीले पुरस्कारमा मात्रै वितरण गर्दैछौं,’ उहाँले भन्नुभयाे ।
म्याराथन प्रतियोगिताका छाता संगठन आवद्ध ‘एम्स’को मान्यता पाउन आफूहरुले २ वर्षअगाडिबाटै योजना बनाए पनि हालैमात्र त्यसमा सफल हुन सकेको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले जानकारी दिनुभयाे । ‘अब हाम्रो प्रतियोगिता पनि अन्तर्राष्ट्रियस्तरमा आधिकारिकता पाएको छ । हामीले साचेको भन्दा एक वर्ष अगाडि नै मान्यता पाउन सफल भयौं,’ उहाँले भन्नुभयाे ।