पोखरा। एघारौं पोखरा महोत्सवको पूर्वसन्ध्यामा पोखरामा कार र्याली गरिएको छ । पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको पूर्वसन्ध्यामा आयोजक युनाइटेड क्लबले कार र्यालीको आयोजना गरेको हो ।

महोत्सव स्थल अमरसिंह चौरबाट सुरु भएको कार र्यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक किरण रावतले एघारौं पोखरा महोत्सवको सफलताको कामना गर्दै महोत्सव अवधिभर महोत्सव स्थलको सुरक्षा ब्यवस्थालाई विशेष ध्यान दिने वताउनुभयाे । महोत्सव स्थल आफ्नो वडाको मातहतमा पर्ने भएकाले महोत्सव स्थलभित्र अन्य सुरक्षा निकायहरु संग समन्वय गरी महोत्सवलाई सुरक्षित बनाउने र महोत्सव स्थल बाहिर पनि सुरक्षालाई विशेष ध्यान दिने वताउनुभएकाे हाे ।

महोत्सव स्थलबाट शुरु भएको र्याली अमरसिंहचोक, बुद्धचोक, पृथ्वीचोक, सृजनाचोक, रत्नचोक, राष्ट्रबैंक चोक, बैदाम, बाराहीचोक, हल्लनचोक, जिरो किमी, मालेपाटन हुदै बाग्लुङ बसपार्क, भिमसेनटोल, महेन्द्रपुल, रानीपौवा, भद्रकाली मियापाटन हुदै महोत्सव स्थलमा पुगेर टुंगिएको कार र्याली संयोजक तथा एघारौं पोखरा महोत्सव स्वयंसेवक तथा बाल उद्यान संयोजक सन्तोेष कार्कीले जानकारी दिनुभयाे । कार र्यालीमा दुइ दर्जन वढी कारको सहभागीता रहेको थियो ।