पोहोर पनि यसै भनेको थिए
जब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्ष
भनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमा
एक चिम्टी खुशी टपक्क टिपेर थपक्क राख्ने छु,
घाम निदाएको रातमा जुनसँग अल्लिकति चमक मागेर
चम्काउने छु अन्धकार छाएको जिन्दगीलाई
अझै भनेको थिएँ सधैं पिर व्यथाले पोल्ने मनका लागि
अलिकति शितलता पनि सापटी माग्छु,
सोचेको थिएँ वसन्तमा सुकेका पाउला पलाएसरी
पुन पलाउलान मेरा पनि आशाहरु,
तर सोचेको जस्तो कहाँ हुन्थ्यो र !
उजाड जीवन यो वर्खामा हरियाली छाउला भन्ने सोचेको,
भेलवाडी पो आयो ,
अलिकति बचेको खुसीहरु पनि बगायो
दशैं आउदा दशा लाग्छ ,
तिहार आउदा मन तितो हुन्छ,
हिउद लाग्छ मन चिसो हुन्छ,
घुमीफिरी जहाँबाट सुरु भयो उही पुग्छ,
बगिरहेको खोलालाई हेर्छु फेरी सम्झन्छु
यो जीवन पनि खोला जस्तै रहेछ बगेपछि कहिल्यै नफर्कने,
बालापन सम्झिन्छु,
डाँडापाखा सम्झिन्छु,
भिरपाखा खोलानाला सम्झिन्छु,
भाँडाकुटी खेलेको सम्झिन्छु
गुणान,भाग, जोड र घटाउ नजानेर कुखुरा बनेको सम्झिन्छु,
अनि फेरी सोच्छु जिन्दगीको हिसाब मिलाउन नसक्दा
कुकुर जस्तै बनेको ,
हरेक वर्ष छुट्ने पुराना सालहरुसगैँ छुटिरहे मान्छेहरु पनि,
तर छुटेनन् यादहरु
आखा चिम्म गरेरे विश्वास गर्दा सिसा झै टुट्यो मन,
हिमाल जस्तै कन्चन हुदा के पाइयो पिडा चोट
किताबको पाना झै पल्टिरहेको पाना कत्तिबेलाबन्द हुने हो,
एउटा वर्षको बैशाख एकमा एउटा मान्छे अर्को सम्म अर्कै हुने रहेछ,
तर याद भने उस्तै
हरेक साल नयाँ वर्ष आउछ तर
एक सालमा भएको खुशीलाई छोडेर
याद मात्रै सुम्पिएर जान्छ,
हरेक समयलाई गनि गनि
भोलीको दिन नआइदियोस भनी भनी बाचिरहेको छ ,
एक भारी गर्हुङ्गो जिन्दगी