काठमाडौं I प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले देश निर्माणको उद्देश्यले स्थापना भएको बताउँदै राजनीतिभन्दा राष्ट्र निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
आइतबार च्यासलमा आयोजित पार्टीको राष्ट्रिय कार्यशालामा सम्बोधन गर्दै ओलीले एमालेले जन्मदेखि नै सकारात्मक परिवर्तन र नागरिकलाई अधिकार सम्पन्न बनाउने लक्ष्यसहित काम गरिरहेको उल्लेख गरे।
‘यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो,’ उनले भने। नेता–कार्यकर्तालाई परिवर्तनको अनुभूति दिलाउन व्यवहारिक काम गर्न निर्देशन दिँदै उनले जनताको आधारभूत आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिए।
‘जनताले सजिलोसँग खान, लाउन, र बाँच्न पाउनुपर्छ,’ ओलीले भने, ‘गरिबी निवारण हुनु र मुख्य अधिकारका रूपमा बाँच्न पाउने सुनिश्चितता हुनु जरुरी छ।’