पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई सुम्पेको हो । विजेता बनेको मञ्चको टिमले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्याे। भने, फोनिज गण्डकीले मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो ।
महिलातर्फको खेलमा फोनिज गण्डकीको टिमले नेपाल पत्रकार महासंघ कास्कीको टिमलाई २५–२१ र २५–२० को सोझो सेटमा पराजित गर्यो । भेट्रान्सतर्फको खेलमा पनि आयोजकको टिमले पत्रकार महासंघको टोलीलाई २५–१६ र २५–१४ को सेटले हरायो ।
दुवै विधामा विजेता बनेको फोनिजको टिमले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने, उपविजेता भएको पत्रकार महासंघको टिमले मेडल र प्रमाणपत्र पायो । प्रतियोगिता अन्तर्गत भएको छेलो प्रतियोगितामा पुरुषतर्फ अशोक थापा प्रथम बने । विजेता थापाले नगद रु २ हजारसहित फेटा र मेडल प्राप्त गरे ।
महिलातर्फ प्रियंका गर्बुजा मगर प्रथम बनिन् । उनले पनि नगद रु २ हजारसहित दोसल्ला र मेडल प्राप्त गरिन् । प्रतियोगिताको उद्घाटनपछि प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पत्रकारितको माध्यमबाट समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्ने बताए । ‘खेलकुदको अनुशासन र पत्रकारितको सचेतनालाई सँगै राखेर समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्छ,’ उनले भने, ‘यदि यसो गर्न सकिएमा राष्ट्र नै अनुशासित हुन्छ अनि कर्तव्यनिष्ट र जवाफदेही बन्छ ।’
प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेश भित्रका खेल क्षेत्रको विकास लागि तल्लिन रहेको उनको बताए । यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । खेलकुद संयोजक अर्जुन गाहा ‘सुशान्त’ ले आगामी वर्ष पनि फोनिजले खेल गतिविधिलाई निरन्तरता दिने बताए । फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङले पत्रकारहरुको भाइचारा प्रगाढ बनाउनका लागि प्रतियोगिता आयोजना गरेको बताए । फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले फोनिजले यो वर्ष रजत वर्ष मनाईरहेकाले गण्डकी र कास्की शाखाले संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको बताए । रजत वर्षकै अवसरमा साउन २७ गते मुल कार्यक्रम आयोजना गरी कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरिने महासचिव धनबहादुर गुरुङले जानकारी दिए । यसका लागि कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नलवपुरकी कमला रानामगर छनोट भइसकेको उनले बताए । सोही दिन अनिज स्थापनामा योगदान दिने र फोनिजलाई साथ, सहयोग र सल्लाह गर्ने अग्रज फोनिजकर्मीहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले बताए ।
ठेलो लाइ छेलो भनेर कति ठाउंमा भनिएको र लेखिएको पाइयो । तर यस्को सहि उच्चारण ठेलो हो । ढुंगा वा फलामको एउटा भारलाइ पाखुराले ठेलेर हुत्याउने वा ठेल्ने गरिने भएकोले यो खेललाइ ठेलो भनिने गरिन्थ्यो । आजकल अपभ्रंश भएर छेलो पनि भन्छन जो अशुद्द हो। कम से कम पत्रिकाले त शुद्द लेख्नु पर्छ नी ।