काठमाडौं। यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ ।
यसवर्षको महाशिवरात्रिमा १ करोड ५० लाख बजेट खर्च हुने अनुमान गरिएको कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदी बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यसवर्ष महाशिवरात्रीका लागि सरकारले १ करोड ५० लाख बजेट छुट्याएको छ। ‘ उहाँका अनुसार महाशिवरात्रि पर्वमा खर्च भएका सबै विवरण १५ दिनभित्र पेश गर्न सम्बन्धित समितिहरूलाई पेश गर्न भनिएको छ ।
महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । जसमा मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ ।
सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ । यसैगरी स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट व्यवस्था, स्वयंसेवा परिचालन व्यवस्था र तथ्याङ्क तथा मूल्याङ्कन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको उहाँले जानकारी दिनुभयाे ।
यस्तै यसवर्ष पशुपतिनाथको मुख्य आकर्षण मन्दिर परिसर, भित्र आकर्षक गेट र मन्दिरको क्षेत्रभित्र मालाहरुले विशेष सजावट गरिनेछ । मन्दिर परिसरलाई सुन्दर तथा सुसजित बनाउन डिजिटल बत्तीहरुको व्यवस्था गरिने तयारी गरिएको छ । यसैगरी पशुपतिभित्र बनाइएका चित्रकलाहरु पनि महाशिवरात्रिको आकर्षणको केन्द्र रहनेछ ।
७ हजार सुरक्षाकर्मी परिचालन गरिने, कहाँ कहाँ खटाइनेछ ?
पशुपतिनाथ दर्शनका लागि भारतबाट आउने साधुसन्त तथा मेला भर्न आउन दर्शनार्थीको सुरक्षा लागि शिवरात्रिमा करिब ७ हजार सुरक्षा व्यवस्था परिचालन गरिने भएको छ । शिवरात्रिको दिनमा पनि विद्युतीय शवदाह क्षेत्र, किरियापुत्री क्षेत्रमा विशेष सुरक्षा परिचलान गरिनेछ ।
प्रचारप्रसार समितिका संयोजक खत्रीका अनुसार महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्न नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्रसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिनेछ ।यस्तै भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलन नेपालको कमाण्ड पोस्ट रहनेछ जसमा कमाण्ड पोस्टसँगै खोजखबर कक्षको पनि व्यवस्था गरिनेछ । त्यसैगरी निर्धारित दर्शनमार्गहरूलाई लक्षित गरी सीसी क्यामेरा जडान गरिने कोषले जनाएको छ ।
कोषका अनुसार गोरखनाथ, कैलाश, वनकालीलगायतका अन्य आवश्यक स्थलहरूमा सब-कमाण्ड पोस्टहरू खडा गरी संयुक्त सुरषा व्यवस्था मिलाइनेछ। ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित स्थानमा सम्पदा मैत्री पार्किङस्थलहरुको पनि व्यवस्था गरिएको कोषले जनाएको छ ।
भोजन वितरण गर्ने संस्थालाई काँच र प्लाष्टिक प्रयोग गर्न रोक
महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रभित्र आवासरभोजन वितरण गर्ने संस्थाहरूलाई काँच र प्लाष्टिकबाट बनेका कप, प्लेट प्रयोग गर्न रोक लगाउने निर्णय गरेको कोषले जनाएको छ । पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक राजु खत्रीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘ महाशिवरात्रिमा भोजन वितरण गर्ने संस्थाहरूलाई कागज, पात आदिबाट बनेको कप, प्लेट मात्रै प्रयोग गर्न भनेका छौं। हामीले काँच र प्लाष्टिकको प्रयोगलाई पूर्ण रुपमा निषेध गरेका छौं।’
यस्तै आवास तथा भोजन, भौतिक पुर्वाधार व्यवस्था-हंशमण्डप, वनकाली, तिलगंगा तथा वि ११ उत्तरी भागमा विविध संघ-संस्थाहरू मार्फत निस्शुल्क आवास, सात्विक भोजन, चिया पानी मिलाइएको छ । यी क्षेत्रहरूमा अस्थायी शौचालयको पनि व्यवस्था गरिएको कोषले जनाएको छ ।
onlinekhabar