काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतको अनुमोदन गरेको छ । सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतको संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो ।
अनुमोदन हुनेहरुमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी हुनुहुन्छ ।
यस्तै संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईको नाम पनि अनुमोदन भएको छ ।