भन्सार प्रशासनको काम गर्ने भन्सार प्रमुखहरुले अनावश्यक रुपमा दबाब सिर्जना हुँदा काम गर्ने वातावरण नभएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको अर्थसमितिमा भएको भन्सार सम्बन्धी काूननलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलमा बोल्दै भन्सार प्रशासकहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले भन्सार ऐनलाई व्यवस्थित नबनाएसम्म भन्सार अधिकृतहरुले काम गर्ने वातावरण नभएको बताए । उनीहरुले भन्सार ऐनलाई डिजिटलाइज र डिजिटल प्रविधि बनाउन जरुरी रहेको बताए । भन्सार प्रशासकहरुले भन्सार ऐनमा रहेका कतिपय प्रवाधानका कारण काम गर्ने वातावरण नभएको गुनासो गरे । उनीहरुले भन्सारमा बसेर पारदर्शी रुपमा कानूनी प्रक्रियामा काम गर्दा पनि दबाब तथा विभिन्न किसिमका टर्चर आउने गरेको उल्लेख गरे । उनीहरुले भन्सारमा व्यवसायीहरुले अनावश्यक दबाब दिने गरेको पनि बताए । बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सारमा केही समस्या हुँदा हुँदै पनि भन्सार अधिकृतहरुले उच्च मनोवलले काम गरिरहेको बताउनु भयो । उहाँले काम गर्दा पनि भन्सारमा धेरै दबाब रहेको बताउनु भयो । उहाँले भन्सार महानिर्देशक भएदेखि विभिन्न थ्रेडहरु आउन थालेकाले मानसिक रुपमा टर्चर भएको पनि सुनाउनु भयो । उहाँले भन्सारमा बसेर काम गर्ने कि नगर्ने भन्ने विषयमा सोच्नुपर्ने बेला भएको उल्लेख गर्नुभयो । उहाँले भन्सारका विषयमा आफूलाई आएका पत्र र म्यासेजहरु अर्थमन्त्रीलाई देखाउन मन लागेको उल्लेख गर्नु भयो । उहाँले भन्सारका कर्मचारीले निष्पक्ष रुपमा कानूनी मापदण्डमा काम गरेता पनि निरपक्ष रुपमा प्रताडित बन्नुपरेको बताउनु भयो । उहाँले भन्सारका कर्मचारीलाई व्यवसायीहरुले प्रभाव, मेनुपुलेट गर्ने गरेको स्वीकार गर्नुभयो । उहाँले व्यापारी व्यवसायीहरुको मानसिकता अझै पनि भन्सारलाई झुक्याउने प्रयास गर्ने रहेको जानकारी दिनुभयो । उहाँले उनीहरुले कम मूल्य निर्धारण मात्रै नभएर गलत मूल्य राख्ने काम समेत गर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘भन्सारमा केही समस्याहरु छन् । भन्सारमा उच्च मनोबलले काम गरिरहेका छौं तर दबाब छ । अहिले परिपे्रक्ष्य फरक छ । विभिन्ने थ्रेडहरु आउन थालेकाले मानसिक रुपमा टर्चर भएको छ । भन्सारमा बसेर काम गर्ने कि नगर्ने भन्ने सोच्नुपर्ने बेला भएको छ । अर्थमन्त्रीलाई पत्र र म्यासेजहरु देखाउनुपर्ने भएको छ । भन्सारका कर्मचारीले निष्पक्ष रुपमा कानूनी मापदण्डमा काम गरेता पनि निरपक्ष रुपमा प्रताडित बन्नुपरेको छ । काम गर्ने वातावरण छैन । काम गर्न सहज छैन । भन्सारका कर्मचारीलाई प्रभाव पार्ने व्यवसायीहरु छन् । सबैभन्दा पहिला व्यवसायीहरु हामीलाई मेनुपुलेट गर्न खोज्छन् । अन्तर्राष्ट्रिय अन्य मुलुकमा भन्सार प्रणाली सञ्चालन गर्ने मेन्टालिटी एउटै हुन्छ तर नेपालमा राजनीतिक, ऐन कानून र सामाजिक परिवेश त्यहीअनुसार काम गर्नसक्ने अवस्था छैन । व्यापारी व्यवसायीहरुको मानसिकता अझै पनि भन्सारलाई झुक्याउने प्रयास गर्ने रहेको छ । कम मूल्य निर्धारण मात्रै नभएर गलत मूल्य पनि रहेको छ । पहिलो प्रयास झुक्याउने,दोस्रो प्रयास प्रलोभनमा पार्ने र तेस्रो प्रयास दबाब दिने गरेका छन् । यी तीन कुरालाई चिर्दै भन्सार प्रशासन चलिरहेको छ । सिमा भन्सारमा बसेर काम गर्न सजिलो छैन । भन्सारमा काम गर्न कर्मचारीहरुलाई सुरक्षा दिएर राख्नुपर्ने अवस्था छ ।’
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश बरालले पनि विमानस्थलको भन्सारमा नयाँ–नयाँ भन्सार समस्या रहेको बताउनु भयो । उहाँले सरकारले विमानस्थल भन्सारबाट आयात हुने सामानहरुको विषयमा एकिन रुपमा तोकेर स्पष्ट बनाउनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय विमानस्थलमा वैदेशिक रोजगारी जानेहरुले ल्याउने सुनमा समेत कडाइ गरिएको बताउनु भयो । उहाँले कडाइ गर्दा सामान्य रुपमा एक जना वैदेशिक रोजगारीमा गएको मानिसले तिस चालिस ग्राम सुन ल्याउन दिने कुरामा दुःख दिएको जस्तो लाग्ने तर हरेक यात्रुलाई त्यही सुविधा दिँदै जाँदा नेपालमा वैधानिक रुपमा सुन आयात नहुने अवस्था देखिएको बताउनु भयो । उहाँले सेडिङमा हरेक यात्रुलाई तीन चार ग्राम सुन पठाएर नेपालमा जम्मा गरी यात्रुलाई पैसा दिने गरेको समेत खुलेको बताउनु भयो । उहाँले सरकारले भन्सारका विषयमा कहाँ लचकता देखाउने र कहाँ कठोर बन्ने सीमा तय गर्नुपर्ने बताउनु भयो । उहाँले औँठी,सिक्री र बाला ल्याउन नदिने भए कानूनमा स्पष्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘ सामान्य रुपमा एक जना वैदेशिक रोजगारीमा गएको मानिसले तिस चालिस ग्राम सुन ल्याउन दिने कुरामा दुःख दिएको जस्तो लाग्छ तर समग्र राज्यको तर्फबाट हेर्दा हरेक यात्रुलाई त्यही सुविधा दिँदै जाने हो भने नेपालमा वैधानिक रुपमा सुन आयात हुँदैन । विदेशबाट ल्याएको सुनले नै पुग्ने भयो । सेडिङमा हरेक यात्रुलाई तीन चार ग्राम सुन लगाएर पठाउने अनि बाहिर जम्मा गर्ने जमात छ । यो खालको समस्याबाट शिकार भएका छौं । व्यक्तिगत रुपमा कयौं मान्य ज्युहरुको फोन आउँछ । सहजिकरण गरिदिनु कति दुःख दिएको भन्नुहुन्छ । छोड्दै जाउँ लाइन लगाएर ल्याउछन् । यो विषयमा प्रहरी पनि हैरान छ । प्रहरीकै अगाडि तास फिटे जसरी पैसा बाड्छ । भन्सारले समाउँदा भन्सार तिर्नुपर्ने हुन्छ तर प्रहरीले समाउँदा फैजदारी मुद्धा बन्छ । मान्छे हेर्दा माया लगेर आउँछ तर ढलौटी नआउँदैन । कानून बनाउने संसदहरु भएकाले सबैले एक पटक सोचौं । कहाँ राज्यले लचकता देखाउने र कहाँ कठोर बन्ने हो त्यसको सीमा तय गर्नुपर्छ । औँठी,सिक्री र वालालाई ल्याउन नदिने हो भने त्यसलाई स्पष्ट बनाउनुपर्छ । वैदेशिक रोजगारीमा गएकालाई परिवारको लागि एक थान बढी मोबाइल ल्याउन दिन व्यवस्थापनि समस्या रहेको छ । त्यसलाई पनि भिजिट भिसामा गएका बाहेक अरुलाई दिने भन्नुपर्छ । विगतमा नेपाल लागुऔषधको लागि ट्रान्जिट बिन्दु थिएन । तर अहिले नेपालमा महिनाको ७ किलो कोकिन खपत गर्ने गरी बिकृति बढ्यो की यो गम्भिर विषय छ । डिजिटल रुपमा चेकजाँच गर्ने कुरा मेरो लेभलबाट हुँदैन । मलाई राज्यले जे प्रोटोकल दिएको छ त्यही फ्लो गछु । सबैलाई नाङगेझार पारेर जाँच गर्छु । सुन छुटेर बाहिर आएर समायो भने भन्सारले मिलेमतोमा छाडेको थियो । प्रहरीले समात्यो भनेर आउँछ ।’
भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार प्रमुखलाई कानूनले गोली हान्ने अधिकार दिएको तर गोली हान्ने मान्छे ल्याउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले भन्सार बिन्दुमा आउने सामानहरु भन्सार छली रोक्न मेहनतका साथ लागेको बताउनु भयो । उहाँले प्रविधिको हिसावमा भन्सार कार्यालय अन्य कार्यालयहरु भन्दा कम नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्सार कार्यालयहरु सबै पेपर र फेस लेसको अवस्थामा पुगेको बताउनु भयो । उहाँले खुला सीमा भएकाले भन्सारमा काम गर्ने कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको गुनासो गर्नुभयो । उहाँले भन्सारमा काम गर्नु भनेको सबैभन्दा ठूलो अपराध समाजको भाष्यबाट उन्मुक्ति पाउने गरी भन्सार ऐन बनाउन सांसदहरुसँग माग गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल