नेपाली काँग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
१४ वर्षअघि नेपाल–भारतबीच सो नाका सञ्चालन गर्ने सहमति भएपनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बौलदै उहाँले सो नाका सञ्चालनका लागि भारत सरकारसँग पनि आग्रह गर्नुभयो । सांसद गौतमले छोटी भन्सारहरुको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । छोटी भन्सारलाई अस्तव्यस्त बनाएर सरकार आफैँले चोरी पैठारीलाई प्रश्रय दिएको आशंका समेत उहाँले व्यक्त गर्नुभयो ।
सांसद गौतमले भन्नुभयो, ‘२७ अक्टोवर २००९ मा नेपाल–भारतबीच भएको वाणिज्य सन्धी अनुसार व्यापार र पारवहनका लागि गुलरिया–मूर्तिया नाका सञ्चालन गर्ने सहमति भएको थियो । तर आज १४ वर्ष बितिसक्यो । म पनि यो संसदमा नौ वर्षदेखि छु । बारम्बार कुरा उठाउँछु । तर अहिलेसम्म त्यो नाका संचालन हुन सकेन सभामुख महोदय । त्यसकारण सभामुखमार्फत म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउनु चाहन्छु–र, भारत सरकारलाई पनि विशेष आग्रह गर्न चाहन्छु–यो नाका संचालनमा तदारुकता देखाइयोस् । र, तत्काल यो नाका सञ्चालनमा आओस् । सीमावर्ती जिल्लाहरुमा धेरै छोटी भन्सारहरु छन् । त्यो व्यवस्थिति छैनन् । आज छोटी भन्सारहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अस्तव्यस्त अवस्थामा छन् । यसप्रति पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद गौतमले अर्थतन्त्र कमजोर भइरहेका बेला भन्सार कार्यालयको व्यवस्थापन गर्न पनि सरकार गम्भिर नभएको भन्दै आपत्ति समेत जनाउनु भयो ।