पोखरा । कास्की–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीले संसदमा जनताका समस्याबारे सक्रिय भएर आवाज उठाउने प्रतिबद्धता जनाउनुभएकाे छ । एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारीमा आवद्ध पत्रकारसँग बुधबार भएको भेटमा उहाँले जनताका समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेको बताउनुभयाे । ‘म सांसद नहुँदा पनि पार्टीकै विभिन्न कमिटीमा बसेर जनतासँगै थिएँ । अब जनप्रतिनिधि भएर एउटा भूमिका थपिएको छ ।
संसदमा कास्कीका समस्या जोड्दार ढंगले उठाउँछु,’ उहाँले भन्नुभयाे । उहाँले चुनावमा केही विकास निर्माणका काम गर्ने प्रतिबद्धता जनाएकाले ती काम सम्पन्न गर्न सक्रिय भएर लाग्ने बताउनुभयाे । आफ्नो पाँच वर्षे कार्यकालमा वडा कार्यालय पुग्ने बाटो पक्की बनाउने योजना सांसद बैरागीले सुनाउनुभयाे ।
आफ्नो निर्वाचन क्षेत्र ग्रामीण भूभाग बढी भएको र सडकको पहुँच नपुगेकाले त्यसतर्फ आफ्नो ध्यान जाने सांसद बैरागीको भनाइ थियो । ‘हाम्रोमा सबै गाउँले भेग छ । ती ठाउँबाट वडा कार्यालयमा पुग्न पाँच वर्षभित्र पक्की बाटो हुनपर्छ भन्ने भिजन छ । कति वडा, कति प्रदेश, कति संघले सक्छ त्यहीअनुसार गर्छाैँ,’ उहाँले भन्नुभयाे ।
सांसद बैरागीले ठूलो भूगोल भए पनि स्वास्थ्य सेवाको पहुँच निकै कम भएकाले एक पालिका एक अस्पताल योजनालाई अघि बढाउने सुनाउनुभयाे । ‘म निर्वाचित भएको क्षेत्रमा राम्रो सरकारी अस्पताल बनाउन चाहन्छौँ । ४ वटा अस्पताल र एउटा राजमार्ग अस्पताल बनाउन पहल गर्ने छु,’ उहाँले भन्नुभयाे । खानेपानीका योजनाको निर्माण सक्ने गरी आफूले सम्बन्धित निकायसँग सहकार्य गर्ने सांसद बैरागीले बताउनुभयाे ।
कास्की–३ मा घान्द्रुक, ल्वाङ, लान्द्रुक, अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल पदमार्ग पर्छन् । तर, सबै उत्पादन बजारकै खुवाइने गरेकोमा चिन्ता व्यक्त गर्नुभयाे । यो समस्या समाधान गरेर गाउँमा गाउँकै उत्पादन खुवाउने गरी ‘इको रिसोर्ट’बनाउने योजनाअनुसार अघि बढ्ने सुनाउनुभयाे । अन्न, तरकारी, फलफूल, मासु र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने महत्वाकांक्षा बोकेर योजना निर्माणमा खटिने सांसद बैरागीले बताउनुभयाे ।