बुटवल । नेपालको ताजमहलको उपनामले चिनिने पाल्पा तानसेनको रानीमहलमा विदेशी पर्यटक भित्राउन अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ र मार्केटिङको पहल थालिएको छ ।
प्रेमको प्रतीक मानिने रानीमहल विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना भएपनि अहिलेसम्म देशबाहिर प्रचार प्रसार हुन सकेको छैन ।
पाल्पाको तानसेन नगरपालिका १३ र पाल्पाकै बगनासकाली गाउँपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरबार हो । वि.सं. १९५० मा शिलान्यास भई १९५४ सालमा जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा आकर्षक चारतले दरबार बनाउन लगाउनुभएकाे थियाे । सोहीकारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ ।
तर यसको ऐतिहासिक र धार्मिक महत्व विश्वसामु प्रचार गर्न नसक्दा पर्यटक आकषिर्त गर्न नसकिएकाले अन्तर्राष्ट्रियस्तरमा मार्केटिङ गर्न भ्यालेन्टाइन डे (प्रणय दिवस) फेब्रुअरी १४ को अवसर पारेर तानसेन नगरपालिकाले पहल थालेको हो ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल (नाट्टा) लुम्बिनीको सहकार्यमा आज रानीमहलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । रानीमहलको ढोका अगाडि रातो कार्पेटमा २५ विवाहित जोडीलाई सम्मान, उनीहरुबीच एक आपसमा गुलाब साटासाट, रानीमहलमा रहेको महादेव मन्दिरमा सिक्का चढाउने र संगीतमा नचाउने, क्याम्प फायर लगायतका कार्यक्रम राखिएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयाे ।
उत्तर वाहिनी गंगा (कालिगण्डकी) सँगै रहेको महादेव मन्दिरमा सिक्का चढाउँदा प्रेम दिगो र अमर हुन्छ भन्ने धार्मिक विश्वास छ । यो विषय ओझेलमा परेकाले यसलाई नेपाली, अंग्रेजी र हिन्दी भाषामा भिडियाे बनाएर अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न प्रणय दिवसमा कार्यक्रम आयोजना गरिएको आचार्यले बताउनुभयाे ।
प्रणय दिवसमा आयोजना गरिएको कार्यक्रमको तीनवटा भाषामा बनाइने भिडियाेलाई विदेशमा प्रचार गरी रानीमहल प्रोडक्टको ब्राण्डिङ र मार्केटिङ गर्न तीनै तहका सरकारले बजेट दिनुपर्ने नाट्टा लुम्बिनी अध्यक्ष रचना पन्तले बताउनुभयाे । ‘रानीमहलको प्रचार प्रसारका लागि आजको कार्यक्रम अहिलेसम्मकै महत्वपूर्ण हो, यसमा तीनै तहका सरकारको ध्यान जानुपर्छ’ पन्तले भन्नुभया, ‘रानीमहललाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय स्तरसम्म मार्केटिङ र ब्राण्डिङ गर्न सकियो भने बर्सेनि लाखौं पर्यटक आकषिर्त गर्न सकिन्छ, यसले लुम्बिनी प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुग्छ ।’