काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताउनुभएको छ ।
आज बुधवार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताउनुभयो । राष्ट्रपति चुनाव देशका लागि महत्त्वपूर्ण एजेन्डा भएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताउनुभयो ।
नेता खनालले भन्नुभयो, ‘सचिवालय बैठकमा अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनुभयो । तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्नेबारेमा रिपोर्टिङ भएन । त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्लामात्रै रहेछ ।’
त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले प्रतिगामी हर्कतहरू बढिरहेको भन्दै त्यसलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरूसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताउनुभयो ।