काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न उपनिर्वाचनका क्रममा आफ्ना उम्मेदवारहरू धम्कीको शिकार भइरहेको र केही स्थानमा अपहरण शैलीमा लुकाउने प्रयाससमेत गरिएको आरोप लगाएको छ।
रास्वपाका सांसद तथा उपनिर्वाचन परिचालन समिति सभापति गणेश पराजुलीले देशका विभिन्न क्षेत्रमा उम्मेदवारलाई धम्की र दबाब आइरहेको दाबी गरेका छन्। पराजुलीका अनुसार, यो विषयमा दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् थप विवरण सार्वजनिक गरिनेछ।
“देशभर हाम्रो पार्टीका उम्मेदवारलाई धम्की दिइँदैछ। कतिपय ठाउँमा त अपहरण शैलीमा उनीहरूलाई लुकाउने काम भइरहेको छ,” पराजुलीले भने।
रास्वपाका कार्यवाहक महामन्त्री सन्तोष बुर्लाकोटीले पनि विज्ञप्ति जारी गर्दै हुम्लाको सर्केगाड गाउँपालिकामा भएको एक घटनाको जानकारी गराएका छन्। उनका अनुसार, उपाध्यक्ष पदका उम्मेदवार सुजता थापामाथि घरमै आएर करिब ४०-५० जनाको समूहले धम्की दिएको थियो।
घटनाका क्रममा थापा र उनका श्रीमान् बल थापालाई जबर्जस्ती घरबाट तानेर अज्ञात स्थानतर्फ लगिएको बताइएको छ। यो घटनाले गाउँमा त्रास फैलिएको बुर्लाकोटीले उल्लेख गरेका छन्।
घटनाबारे जानकारी पाएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको थियो। प्रजिअ पाण्डेयले घटनाको खोजतलास र उद्धारका लागि प्रहरीले आवश्यक कदम उठाइसकेको बताएका छन्।
उपनिर्वाचनका क्रममा यस्तो वातावरणले लोकतान्त्रिक प्रक्रियामा गम्भीर प्रश्न उठाएको रास्वपाले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।