अनलाइन टिभी पत्रकार संघ, नेपालले सामाजिक सञ्जाल विधेयक, २०८१ प्रति आपत्ति जनाउँदै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।
मंगलवार सिंहदरबारस्थित समितिको कोर्यकक्षमा समिति सभापति अम्मरबहादुर थापालाई भेटेर संघले ध्यानाकर्षण गराएको हो । संघले खबरदारी र आलोचना गर्न पाउने नागरिकको आधारभुत अधिकार विधेयकले कुण्ठित गरेको आरोप लगाएका छन् । अधिकार खोस्ने विधेयकमा रहेका प्रावधान नहटाइ विधेकय अघि नबढाउन उनीहरुको आग्रह छ । ज्ञापन पत्र बुझ्दै समिति सभापति थापाले सरोकारवालाहरुसँग सरसल्लाह नगरी विधेयक अघि नबढ्ने भन्दै सरोकारवालाहरुको राय, सल्लाह लिएर मात्रै विधेयक अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । राज्यको चौथो अंगलाई अपमान गरेर अगाडि बढ्न नसकिने बताउनु भयो ।
संघले सोही ज्ञापन पत्र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई पनि बुझाएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख सचेतक बर्तौलाले सरकारले ल्याएको विधेयक जस्तोको त्यस्तै संसदबाट कहिले पनि पारित नभएको बताउनु भयो । सार्वजनिक सरोकार राख्ने निकायहरुले यसका राम्रा पक्षलाई जीवन्त राख्दै यसका कतिपय प्रावधानलाई व्यवस्थित गर्न आएका सुझावलाई कानूनको अंग बनाएको बताउनु भयो । विधेयक राम्रा गर्नेहरुप्रति लक्षित नरहेको बताउनु भयो । कसैको अभिव्यक्ति थुन्नका लागि विधेयक नल्याइएको बताउनु भयो ।
उहाँले सामाजिक सञ्जालमा मौलाएको अराजकतालाई नियमन गर्न विधेयक ल्याइएको बताउनु भयो । समाजमा उद्दण्डता मच्चाउनेहरुका लागि विधेयक ल्याइएको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल