काठमाडौं I काठमाडौंको बसुन्धरामा विधुतिय गाडी ओमोडा एण्ड जेईकोले नयाँ शाखा विस्तार गरेको छ । शाखा विस्तार कार्यक्रममा प्रमुख अतिथी नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एसपिजी अटोमोबाईल्सका प्रबन्ध निर्देशक गौरव शारडा,एसपिजी अटोमोवाईल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, एविटी मोटर्सका अध्यक्ष विनोद कुमार श्रेष्ठ, ,एबिटी मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मान्नधर , प्रहरी परिसर महाराजगञ्जका प्रहरी उपरिक्षक रविन्द्रनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ओमोडा एण्ड जेईकोको नयाँ शोरुमको उद्घाटन गर्न पाउँदा आफुलाई खुसी लागेको बताउनुभयो । केही वर्षअघि विधुतिय सवारी साधनबारे सोच्न पनि नसकिने अवस्थाबाट अहिले नेपाली बजारमा विधुतिय सवारी साधनले बेग्लै पहिचान बनाउने अवस्थामा पुगेको उहाँको भनाई थियो ।
विधुतिय सवारी साधनहरु आर्थिक रुपमा सस्तोमात्र नभई वातावरण र व्यक्तिगत स्वास्थ्यमा समेत फाईदा पुग्ने खालको भएको उल्लेख गर्नुभयो । 'पहिले एकपटक आफुले एकजना माईक्रोबस चालकलाई पहिले उनैले तेलबाट गाडी चलाउँदा र पछि विधुतिय माईक्रोबस चलाउँदाको फरकबारे सोधेको स्मरण गर्दे उहाँले ती चालकले आफुले तेलबाट चलाउनभन्दा विधुतिय माईक्रोबस चलाउन धेरै आन्नद महशुस गरेको साथै तेलको गाडी चलाउँदा आफुले लगाएको कपडाहरु कालो धुँवाले दुई दिनमै कालो हुने गरेको तर विधुतिय बसमा यस्तो नभएको बताएको भन्दै यसबाट पनि विधुतिय सवारी साधनले व्यक्तिगतदेखि वातावरणीय सरसफाईसम्म सहयोग पुग्ने बताउनुभयो । नाकाबन्दी बेलाको तेल नपाउँदाको स्मरण गर्दे उहाँले तेल अभाव भएका बेलाहरुमा विधुतीय सवारी साधनहरुको अझ बढी महत्व हुने बताउनुभयो । उहाँले विधुत प्राधिकरणमा ८ वर्षअघि किनेको विधुतिय गाडी अहिलेसम्म पनि नबिग्री चलिरहेको भन्दै यसको फिचरहरु पनि राम्रो रहेको बताउनुभयो ।'
विधुतिय सवारी साधनको लागि नेपालमा ६०० भन्दा बढी चार्जिङ स्टेशनहरु रहेको र आगामी दिनमा अरु स्टेशनहरु पनि निर्माण हुने बताउनुभयो ।अहिले केही मात्रामा भईरहेको लोडसेडिङ पनि कम हुँदै जाने उहाँको भनाई थियो ।

यसैगरि कार्यक्रममा स्वागत गर्दे एसपिजी अटोमोबाईल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले एसपिजी अटोमोबाईल्सले नेपालमा करिब ५० प्रतिशत विधुतिय सवारी साधनहरुको बिक्री गरिरहेको बताउनुभयो । आफ्नो कम्पनीले बर्षोदेखि गुणस्तरिय सवारी साधनहरु सर्वसुलभ मूल्यमा विक्री गरिरहेको उहाँको भनाई थियो।यसैगरी कार्यक्रममा एविटी मोटर्सका प्रवन्ध निर्देशक सचिन कुमार श्रेष्ठले ओमोडा एण्ड जेईकोले रिजनेवल रेटमा विशेष फिचर भएका गाडीहरु प्रदान गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथी तथा अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । ओमोडा एण्ड जेईकोले केहीदिनअघि चावहिलमा पनि आफ्नो नयाँ शाखा विस्तार गरेको थियो ।
