ओस्लो । पाँच वटा नोर्डिक राष्ट्रका ओलम्पिक कमिटीले रुसी तथा बेलारुसी खेलाडीमाथिको प्रतिबन्ध तत्काल फुकुवा नगर्न माग गरेका छन्।
फिनल्यान्ड, नर्वे, डेनमार्क, आइसल्यान्ड र स्वीडेनको ओलम्पिक कमिटीद्वारा जारी संयुक्त विज्ञप्तीमा ‘उनीहरूको पुनरागमनका लागि यो उपयुक्त समय नभएको’ उल्लेख छ।
अन्तर्राष्ट्रिय अोलम्पिक कमिटी (आईओसी)ले अर्को वर्ष पेरिसमा हुने ओलम्पिकमा यी दुई देशका खेलाडीलाई पनि तटस्थ रूपमा सहभागी हुन दिने संकेत गरेको थियो।
गतसाता लात्भिया, लिथुवानिया, एस्टोनिया र पोल्यान्डले पनि सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथिको आक्रमणका कारण लागेको प्रतिबन्ध फुकुवा नहुनुपर्ने माग राखेका थिए।
युक्रेनमा र रुसबीच जारी युद्ध जस्ताको तस्तै रहेकाले अहिलै नै निलम्बन फुकुवा गर्नु नहुने पाँच ओलम्पिक कमिटीले बताएका छन्। यद्यपि, आईओसीले भने यी दुई देशका खेलाडीहरूलाई सहभागी गराउन मध्यमार्गको व्यवस्था गर्ने बताएको छ।