भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणकारे सांसदहरुले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुको मृतक विद्यार्थी र उनको परिवारलाई न्याय दिन उच्चतरीय राजनीतिक एवं कुटनीतिक वार्ता गर्न माग गरेका छन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको कुटनीतिक असक्षमताका कारण उक्त विश्वविद्यालयमा असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरेको बताउनु भयो । उहाँले मृतक विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरुमाथि भएको अमानवीय क्रियाकलापको घोर निन्दा गर्नुभयो । सिंगो संसदले उक्त घटनालाई गम्भिरतापूर्वक लिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भारतको ओडिसा राज्यको एक विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भयो । र त्यसपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै आनदोलन गर्नुभयो । आन्दोलनका क्रममा त्यहाँबाट अमानवीय व्यवहार गरियो । र सिंगै नेपाल र नेपालीमाथि धावा बोलियो । तर सरकारको कुटनीतिक असक्षमताका कारण त्यहाँ अहिलेपनि असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरिराखेको छ । म प्रकृति लम्सालको मृत्युप्रति दुःख व्यक्त गर्न चाहन्छु र हाम्रो दल नेकपा माओवादी केन्द्र)को तर्फबाट घोर निन्दा गर्न चाहन्छु । सरकारको कुटनीतिक पहलकदमीका लागि जोडदार माग गर्न चाहन्छु । प्रकृति लम्सालको परिवारलाई उचित न्याय दिनका लागि उच्चस्तरीय राजनीतिक संवादको यथाशिघ्र थालनि गरेर समस्याको समाधान खोज्नका लागि जोडदार माग गर्दछु । सिंगो संसदले यो घटनालाई गम्भिरतापूर्वक लिनुपर्दछ ।’
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालको कुटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले नेपालको कुटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गरिरहेको बताउनु भयो । उहाँले सरकारको दुई तिहाईको दम्भ संसद भवन र सिंहदरबार बाहेकका नागरिकले अनुभव गर्न नपाएको बताउनु भयो । उहाँले देशको सेवा प्रवाहमा समेत सुधार नभएको बताउनु भयो । उहाँले मुलुकको कुटनीतिक संचरना नै सुधार गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म ओडिसामा भएको घटना एउटा घटनामात्र नभईकन यसको प्रवृत्ति र यसको अचरणमा जान चाहन्छु । हाम्रो डिप्लोम्याटिक रणनीति कति कमजोर भयो कि छिमेकी देशको स्कुलको चौकीदारले पनि नेपाली नागरिकलाई सजिलै पिटिदिन पाए । र तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको बजेट जति पनि छैन भनेर हेप्न पाए । हामी दुई तिहाईको दम्भ यो सिंहदरबार र सदनभन्दा बाहिर हाम्रो नागरिकले त केही पनि फिल गर्न पाएको रैनछ । कता के कन्फिडेन्स छैन । हाम्रो सेवामा सुधार केही पनि छैन । विदेशी देशमा हाम्रो आत्मसम्मान र सुरक्षा कतैपनि छैन । हाम्रो संरचना नै पुनर्निर्माण गर्नुपर्छ कि भन्ने प्रश्ताव गर्न चाहन्छु ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले सरकारले उक्त घटनाको सत्यतथ्य छानविन गर्न कुटनीति पहल गर्न माग गर्नुभयो । सभाको आकस्मिक समयमा सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन् ।
—न्युज एजेन्सी नेपाल