पोखरा । पोखरामा १५ दिनसम्म चलेको धिमेबाजा र धिमे नाच तालीम सम्पन्न भएको छ । नेवा मिसा पुच कास्कीको आयोजना र पोखरा महानगरपालिका वडा नं.३ को सहयोगमा भएको तालिममा ४० जना नेवा युवायुवतीहरुको सहभागीता रहेको थियो ।
प्रशिक्षार्थीहरुलाई बिकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण गराएका थिए ।
तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा न.३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाईराख्न सकेमात्र पहिचान कायम रहने बताउनुभयाे । उहाँले पोखरामा भएका नेवा खलः, नेवा ल्याम्ह पुचः नेवा पत्रकार तथा
मिसा पुचहरुको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने संग्रहालय निर्माण भएकोप्रति खुशी व्यक्त गर्दै जनप्रतिधि भएर संस्कृति जोगाउने विषयमा काम गर्न पाउँदा खुशी लागेको बताउनुभयाे ।

यस्तै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार र संस्कृति प्रवर्धन र संरक्षणको लागि युवाहरुलाई पोखरा मै पहिलो पटक धीमे नाचको तालिम दिईएको बताउनुभयाे । उहाँले नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थामा पुगेको पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनर्जागृत गरेको बताउँदै यस्ता नाचहरुलाई
व्यावसायिकरण गर्नुपर्ने बताउनुभयाे ।
तालिम समापन कार्यक्रममा नेवा मिसा पुचः कास्कीका अध्यक्ष सँगिता बज्राचार्यले तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई धन्यवाद दिदै निरन्तर अभ्यासमा लागिरहन आग्रह गर्नुभयाे । उहाँले तालिममा धेरै कुरा सिकेपनि पर्याप्त नहुने बताउँदै आफ्ना टोलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पनि यस्ता बाजागाजा र नृत्य प्रस्तृत गर्नुपर्नेमा जोड दिनुभयाे ।
कार्यक्रममा वडा नं. ३ का जनप्रतिनिधि र सचिवलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।