काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपालले राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन्।
एसिया कपका लागि नेपाल एक साता अघि नै पाकिस्तान जाने भएको छ। त्यहाँ विशेष प्रशिक्षण गर्नुका साथै स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने क्यानले जनाएको छ। एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
नेपालले पहिलो खेल अगष्ट ३० मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। त्यसपछि नेपाली टोली श्रीलंका प्रस्थान गर्नेछ। श्रीलंकाको क्यान्डीमा सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।