चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताउनुभएकाे छ। नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताउनुभयाे।
उहाँले भन्नुभयाे, ''हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ । सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।'' कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उहाँको भनाइ थियो ।
नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयाे। प्रवक्ता डा महतले भन्नुभयाे, 'ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ ।'
कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उहाँले स्पष्ट पार्नुभयाे। कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उहाँको भनाइ थियो ।