नेपाली काँग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राख्नुभएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनु भयो । प्रमुख सचेतक घिमिरेकाअनुसार सांसदहरुले बजेट लगायत विविध विषयमा खुलेर छलफल गर्नुभएको छ । बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरुले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्नेगरी बजेट विनियोजन हुनुपर्ने काँग्रेस सांसदहरुको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आज बजेट लगायतका विविध विषयहरुमा छलफल गर्नको लागि यो बैठकको आयोजना गरिएको हो । सांसदहरुले बजेट लगायत विविध विषयमा खुलेर छलफल गर्नुभयो । सक्रियतापूर्वक सहभागिता जनाउनु भयो । डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छौँ । दुई वटा शोक प्रश्तावहरु । नगिना यादवको पितको स्वर्गारोहण भएको र ओखलढुंगाका पूर्व पार्टी सभापति एवं जिल्ला विकासका पूर्वसभापति महेश कर्माचाको निधनमा शोक प्रश्ताव पारित गरेका छौँ । गभर्नरको विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा समान ढंगले गर्नुपर्छ, क्षेत्रगत रुपमा सन्तुलित विकास हुनुपर्छ भन्ने कुरा पनि भयो ।’संसदीय दलको बैठकमा ठूलो दलको हिसावले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका छन् ।
—न्युज एजेन्सी नेपाल