काठमाडौं । नेपाली कांग्रेसले अरुदलसँग छलफल गरेर सभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ। बुधबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अन्य दलसँग छलफल गरेर उम्मेवारी दर्ता गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयाे।
महतले समर्थन लिन सकिने दलसँग छलफल गर्ने बताउनुभयाे। उहाँले उम्मेदवारको विषयमा आन्तरिक कुराकानी भइरहेको स्पष्ट पार्नुभयाे। कांग्रेसलाई सभामुख पदमा उम्मेदवार दिनेर नदिने, उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पदाधिकारी बैठक उम्मेदवारको टुंगो नलगाई बिना निष्कर्ष सकिएको छ।
बुधबार बिहान पदाधिकारी बैठक अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धुम्बाराहीमा पुग्नुभएकाे थियाे।
कांग्रेस र एकीकृत समाजवादीले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपनि सरकारमा सहभागी भएको छैन। कांग्रेसले नयाँ सत्ता समीकरणबाट जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति, जनमत पार्टीलगायतलाई आफूतिर तान्न खोजिरहेको छ। सभामुख र राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर कांग्रेसले आफ्नो गठबन्धन बनाउन लागेको हो।
यता एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ। पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लागेको एक पदाधिकारीले बताउनुभयाे। उहाँ झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएकाे हाे।
प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।
प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ताका लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ। आजै सवा चार बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ।