काठमाडौं । एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २ सय ८१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनायो । नेपालका कप्तान देव खनालले शतक प्रहार गरे । उनले ९० बलमा तीन छक्का र नौ चौकासहित शतक बनाएका हुन् ।
कप्तान खनाल नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा तीन शतक हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । समूह चरणमा इरानसँगको खेलमा पनि उनी शतक बनाएर आउट भएका थिए ।
त्यस्तै, गएको फागुनमा आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा कुवेतसँगको खेलमा १ सय २५ रनको शतकीय पारी खेलेका थिए ।
आजको खेलमा उत्तम थापा मगरले ५७ र अर्जुन कुमालले ५५ रनको अर्धशतकीय पारी खेले । यूएईका हरित शेठ्ठीले सर्वाधिक ५ विकेट लिए । कप्तान आयन खानले २ विकेट लिए । यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा यूएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।
फाइनलमा पुगेसँगै नेपाल र यूएईले पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्ने पक्का भएको छ । नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो । यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।
एसीसी १९ वर्षमुनिको प्रिमियर कपनेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य