नेपाल स्काउटको कार्यालयमा तोडफोडका साथै सुरक्षामा खटिएकाहरुमाथि हातपात भएको छ । महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले स्काउट कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमाथि हातपात गरेको स्काउटले जनाएको छ ।
बालबालिकाहरुको आवासीय प्रशिक्षण कार्यक्रम भइरहेकै बेला नेपाल स्काउट प्रधान कार्यालय परिसरको सुरक्षाका लागि बन्द गरिएको गेट, एउटा पार्टी प्यालेसलाई असहज भएको भन्दै प्रहरीले तोडफोड गरेको स्काउटले जनाएको छ ।
स्काउटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट नेपाल स्काउटको पक्षमा फैसला भइसेकेको अवस्थामा आदेशअनुरुप खड्काल्याण्ड डेभलपमेण्ट प्रालीले स्थान खाली गरी नेपाल स्काउटलाई भुक्तानी गर्नुपर्ने भाडा बक्यौता रकम १ करोड ८५ लाख १८ हजार १६६, तिर्नुको साटो, उल्टै कानुनको परिपालना र कार्यान्वयन गर्ने गराउने निकाय प्रहरी प्रशासनकै दुरुपयोग गरी सम्मानित अदालतको फैसलाको अवहेलना हुनेगरी एउटा अमुक व्यापारीको पक्षमा महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरीटोलीले कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि हातपात एवम् लछारपछार गर्दै, बालबालिकाको आवासीय प्रशिक्षण कार्यक्रम भइरहेकै बेला, नेपाल स्काउट प्रधान कार्यालय परिसरको सुरक्षाका लागि बन्द गरिएको गेट, एउटा पार्टी प्यालेसलाई असहज भयो भन्दै बिहीबार जबरजस्ती तोडफोड गरी खोल्ने निन्दनीय कार्य भएको छ।''
नेपाल स्काउट ऐन, २०५० द्वारा नेपाल स्काउटको स्थापना भएको हो । नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो ।
स्काउटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्झौताको अवधि समाप्त भइसकेपछि, स्थान खाली खाली गरिदिनुपर्नेमा खड्काल्याण्ड डेभलपण्ट प्रालि सम्झौता अबधि १५ वर्ष हो भन्ने निराधार दावीसहित सम्मानित काठमाडौ जिल्ला अदालत गएको र २०७६ असार १८ गतेको सम्मानित काठमाडौ जिल्ला अदालतको आदेश र फैसला बमोजिम हाल सम्म भोगचलन गर्दै आइरहेका थिए ।’
काठमाडौ जिल्ला अदालतको फैसलाविरुद्ध नेपाल स्काउट उच्च अदालत पाटनमा पुनरावेदनमा गएको थियो । सो मुद्दामा उच्च अदालत पाटनले २०७१ असार १३ गते नेपाल स्काउटको पक्षमा फैसला गरेको थियो ।
खड्काल्याण्ड डेभलपमेन्ट प्रालीले भोगचलन गरेको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ्ग क्षेत्रमा खड्काल्याण्ड डेभलपमेन्ट प्रालीको कुनै हक दावी नहुने नेपाल स्काउटले स्पष्ट पारेको छ ।
annapurna