पोखरा । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की जिल्लाको प्रथम अधिवेशनबाट पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । ‘सम्पदा संरक्षण र गन्तब्य पहिचानः पर्यटकीय राजधानी गण्डकीको स्वाभिमान’ भन्ने नाराका साथ स्थापना भएको संगठनको प्रथम अधिवेशनबाट अध्यक्षमा पाण्डेलाई निर्विरोध निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा गुरुप्रसाद त्रिपाठी, सचिवमा कुलप्रसाद तिवारी, सहसचिव श्याम प्रसाद पौडेल (राजु) र कोषाध्यक्षमा रमेशराज अधिकारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यमा शोभाखर तिवारी, ममता न्यौपाने,अर्जुन सुवेदी, सुनिता पहारी गैह्रे, शिव थापा, सरस्वती ढुंगाना, सरा बोगटी, विष्णु पहारी, मिठुदेवी लामिछाने, शिवराज अधिकारी, धनप्रसाद गुरुङ र
शेरकाजी गुरुङ निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसको व्यवसायिक प्रवद्र्धनको लागि सबैको साझा सोच र अग्रसरताको आवश्यता रहेको बताउनुभयो । उहाँले कुनै कच्चा पदार्थ विनानै उद्योग सञ्चालन गर्न सकिने पर्यटन उद्योग भएकाले यहाँ रहेका हिमश्रृंखला, ताल तलैया लगायत प्राकृतिक सम्पदालाई संरक्षण र सम्बद्धनमा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पर्यटनमैत्री नीतिका लागि आफुले पहल गर्ने बताउँदै नेपालको अर्थतन्त्रमा पर्यटनबाट टेवा पुर्याउने गरी पर्यटकीय गतिविधिमा जोड दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले पर्यटन
प्रवद्र्धन र विकासका लागि भइरहेका स्रोत साधनको समुचित प्रयोग गरेर एकिकृत सोचका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पोखरा पर्यटनको राजधानी भएकाले र अन्तराष्ट्रिय विमानस्थल समेत भएकाले व्यवसायिक एकता र पर्यटकीय हवको रुपमा विकास गर्नुपर्ने खाँचो औल्याउनुभयो ।
कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष केदारनाथ शर्मा, गण्डकी प्रदेश अध्यक्ष चिरञ्जीवी पोखरेल, सल्लाहकार सुर्य भुजेल, उद्योग तथा व्यवसाय राष्टिय महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, नेकपा एमाले जिल्ला सचिव तथा जिल्ला संगठन विभाग प्रमुख बैनबहादुर क्षेत्री, एमाले महानगर कमिटि अध्यक्ष दिलिप न्यौपाने लगायतले पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएका समस्याका कारण पर्यटन व्यवसायी भोग्नु परेको कठिनाइ, व्यवसायिक हक हित र आगामी दिनमा संगठनले अपनाउनु पर्ने रणनीतिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो। संगठनका प्रदेश उपाध्यक्ष जमुना पराजुली , सचिव मिलन तिवारीले संगठनका गतिविधि र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।