काठमाडौं । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानले घरेलु टोली नेपाललाई ५ रनले पराजित गरेको छ ।
खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।
कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो ।
विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए ।