काठमाडौं । नेपाल बुद्धिचाल संघको निर्वाचन आगामी चैत ३ र ४ गते काठमाडौं हुने भएको छ । राखेपले गत साता गठन गरेको तदर्थ समितिको बैठकले स्थानीय तह, जिल्ला र प्रदेश हुँदै चैत पहिलो साता केन्द्रीय साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो । खेलकुद विकास ऐन २०७७ को अनुकुल हुने गरी विधान संशोधन गरी सबै तहको अधिवेशन गर्ने निर्णयसमेत भएको छ ।
विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष सुबोध सेर्पालीको संयोजकत्वमा मोनालिसा खम्बो, यज्ञप्रसाद पन्त, ताराबहादुर रानाभाट र उमेश केसी सम्मिलित समिति बनाइएको छ । यो समितिलाई एक साताको समय दिइएको छ । समितिले ऐनअनुकुल हुने गरी विधानको प्रारुप, केन्द्रीय कार्यसमितिमा पदाधिकारी संख्या र संघलाई थप विस्तार गर्ने गरी काम गर्नेछ ।
तदर्थ समितिका उपाध्यक्ष हेराकाजी महर्जनका अनुसार शनिबारको बैठकले बुद्धिचाल संघको सन्जाललाई २९ जिल्लाबाट विस्तार गरी ५१ जिल्लासम्म पुर्याइने निर्णय भएको छ । उहाँका अनुसार ३१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पनि चुस्त बनाइनेछ ।
विधान समितिका सदस्य तथा फिडे रुस कमिसनका काउन्सिलर उमेश केसीका अनुसार ऐनअनुसार स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रबीचको सहकार्य र समन्वयका लागि पनि सैद्धान्तिक रुपमा विधानमा समावेश गरिनेछ ।
बुद्धिचाल संघमा हाल कायम रहेका जिल्ला :-
बैतडी ,डडेल्धुरा, कन्चनपुर, कैलाली, जुम्ला, रुपन्देही, पाल्पा, नवलपुर, कास्की, बाग्लुङ, पर्वत, तनहुँ, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, दोलखा, मकवानपुर, धाडिङ, महोत्तरी, सप्तरी, धनुषा, पर्सा, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर ।
थप गर्न लागिएका जिल्ला :-
डोटी, दैलेख, सुर्खेत , हुम्ला, सल्यान, पश्चिम रुकुम, प्युठान, बाँके, बर्दिया, स्याङ्जा , लमजुङ, रामेछाप, सिन्धुपाल्चोक, चित्तवन, सिरहा, बारा, सर्लाही, रौतहट, ताप्लेजुङ, तेह्रथुम, उदयपुर ।