नेपाल फुटबल संघ (एन्फा) ले २०८०÷०८१ को बजेट तथा कार्यक्रमहरु अनुमोदन गरेको छ । सोमवार ललितपुरमा बसेको एन्फाको साधारण सभाले २०८०÷०८१ को बजेट तथा कार्यक्रमहरु अनुमोदन गरेको हो । साधारण सभाबाट ०७९÷०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताउनु भयो । उहाँले साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको बताउनु भयो । यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रविणकुमार झा र सुकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।
उहाँले भन्नुभयो, ‘आज हामीले नियमित साधारण सभा समापन सम्पन्न गरेका छौँ । ०७९÷०८० को बजेट अडिटलाई अनुमोदन गरेका छौँ । २०८०÷०८१ को बजेट तथा कार्यक्रमहरु अनुमोदन गरेका छौँ । लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय भएको छ । त्यसमा दीपक खाती संयोजक, प्रविणकुमार झा सदस्य र सुकबहादुर गुरुङ सदस्य हुनुहुन्छ । २०८०÷०८१ को हाम्रो अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको छ । खर्चको पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेका छौँ ।’
उहाँकाअनुसार साधारण सभाले २०८०÷०८१ को अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको बताएको छ । त्यस्तै खर्चमा पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेको छ ।
—न्युज एजेन्सी नेपाल