नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेताहरु गैरजिम्मेवार रुपले पैसा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ ।
शुक्रवार निर्माण व्यवसायी संघ भरतपुर चितवनको ३० औँ साधारण सभा एवं १६ औँ अधिवेशनमा बोल्दै अध्यक्ष सिंहले नेताहरुले आफू कमाउने र आफ्ना सन्तान र इष्टमित्रका लागि कमाइदिने उद्देश्य लिएर राजनीति गरिरहेका बताउनुभएको हो । उहाँले नेताहरु चुनावमा भएको खर्च उठाउन र आगामी निर्वाचनका लागि तयारी गर्न गैरजिम्मेवार रुपले कमाउन लागेका कारण अर्थतन्त्रमा समस्या सिर्जना भएको बताउनु भयो । उहाँले नेताहरु नसुध्रिइकन नेपाली जनताले सुख नपाउने बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरु पनि कमाइ नहुने रेटमा काम गरेर गैरजिम्मेवार भएका बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरु आफ्नो क्षमताभन्दा बढी निर्माणको कामहरु जिम्मा लिएर र काम नै गर्न नसक्ने निर्माण कम्पनीहरुलाई ज्वाइनभेन्चर दिएर गैरजिम्मेवार रुपमा प्रश्तुत भएको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘अहिले हामीले निर्माण उद्योगलाई कसरी अगाडी बढाउने, निर्माण उद्योगीहरुलाई कसरी बढी क्षमतावान बनाउने कुरामा भन्दापनि सरकारले गरेको गलत निर्णयहरु, कर्मचारीले गरेको गलत निर्णयहरुमा नै समय खर्चिनुपरेको अवस्था छ । हामीले आफ्नो क्षमताभन्दा अत्याधिक रुपमा निर्माणको कामहरु जिम्मा लिएर र काम नै गर्न नसक्ने निर्माण कम्पनीहरुलाई ज्वाइनभेन्चर दिएर हामी गैरजिम्मेवार रुपमा प्रश्तुत भएकै हो । हामीले व्यवसायी भएपछि व्यवसायिक रुपमा काम सम्पन्न गर्ने र नाफा कमाउनै पर्छ । सँगसँगै राजनीतिक पार्टीहरु पनि त गैरव्यवसायिक हुनुभएको छ । राजनीति भनेको त उदार भावले जनताको सेवा गर्ने, देश विकासमा लाग्ने । यसमा कुनै कमाउने होइन । हामी कमाइ नहुने रेटमा काम गरेर गैरजिम्मेवार भएका छौँ भने उहाँहरुले राजनीति गर्ने भनेको आफू कमाउने, आफ्नो सन्तान, इष्टमित्रहरुलाई कमाइदिने उद्देश्य लिएर पार्टीहरुले राजनीति गरिरहेका छन् । त्यो कुराले नेपालमा बेथितिहरु निम्त्याएको छ । गैरजिम्मेवार रुपमा राजनीतिक पार्टीहरु, नेतृत्वहरु आफ्नो निर्वाचनमा गरेका खर्चहरु पुनःप्राप्ति गर्ने र अर्को निर्वाचनको तयारी गर्नका लागि गैरजिम्मेवार रुपले कमाउनेमा लाग्नुभएको छ । त्यसले गर्दाखेरी हाम्रो अर्थतन्त्रमा समस्या सिर्जना भएको छ । उहाँहरु नसुध्रिइकन नेपालीले सुख पाउँदैनन् । अब आइन्दा बिना बजेटका योजनाहरु राख्ने प्रेसर उहाँहरुले दिनुभएन । त्यसरी बिना बजेटका योजनाहरु राखेर हामीलाई घरको न घाटको बनाइराख्नु भएको छ त्यो कुराको जिम्मेवारी उहाँहरुले लिनुपर्छ । बिना बजेटका योजनाहरुलाई खारेज गरेर त्यसबाट निर्माण क्षेत्रलाई उन्मुक्ति दिनुपर्छ ।’
उहाँले आगामी दिनमा बिना बजेटको योजनाहरु राख्नु नहुने बताउनु भयो । उहाँले बिना बजेटको योजना राखेर निर्माण व्यवसायीलाई घरको न घाटको बनाइएको भन्दै बिना बजेटका योजनाहरुलाई खारेज गर्नुपर्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल