काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । आज आइतवार त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ को सेटमा हरायो ।
पहिलो सेट गुमाएको नेपालले त्यसपछिको तीन सेट जितेको हो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित्यो । यो हारसँगै उज्बेकिस्तान प्रतियोगितामा चौथो भएको छ ।
गएको शुक्रवार भएको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै यसअघिको दुवै संस्करणको विजेता नेपाल फाइनल पुग्न असफल भएको थियो । शुक्रवार नै भएको पहिलो सेमिफाइनलमा उज्बेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेको थियो ।
आजै प्रतियोगिताको उपाधिका लागि भारत र काजकिस्तानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको कभर्ड हलमा दिउँसो ४ बजेपछि सुरु हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको छ ।