काठमाडौं । देशभरका अस्पतालको अत्यावश्यक सेवा बन्द गरेर आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घ र सरकारबीच वार्ता सुरु भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका प्रतिनिधि र चिकित्सक सङ्घका प्रतिनिधिबीच वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चिकित्सक सङ्घले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । अस्ति शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मी घाइते भएका थिए । यही घटनाको विरोधमा चिकित्सक सङ्घले विरोध गर्दै आज आन्दोलन गरेको हो ।
आन्दोलनले बिरामी भने मर्कामा परेका छन् । अत्यावश्यक सेवा बाहेक अन्य उपचारका लागि अस्पताल पुगेका बिरामी त्यसै फर्किरहेका छन् । बिहान केहीबेर बिरामीले पनि उपचार पाउनु माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन गरेका थिए।