भारत सरकारको वित्तीय सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको पुनःनिर्माण पछि उद्घाटन गरिएको छ ।
सोमवार एक कार्यक्रमको आयोजना गरी भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाको लागि भारतीय राष्ट्रिय ट्रस्टको प्राविधिक सहयोग तथा नेपाल सरकार र सहकारी विकास मन्त्रालय लगायतका सरकारी निकायहरुको सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदाको रक्षा भनेको दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहर भएको बताउनु भयो । उहाँले नेपाल र भारतबीचमा संस्कृतिको सम्बन्धलाई थप बिस्तार गर्दै लैजानुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भारत सरकार तपाईहरुको जरुरतअनुसार नेपालको सांस्कृतिक सम्पदाको रक्षा गर्नका लागि तयार छ । नेपालको सांस्कृतिक धरोहर मात्रै होइन, दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहरलाई मिलेर अघि बढाउन सकिन्छ । नेपाल र भारतबीचमा संस्कृतिको जुन सम्बन्ध छ, यो पुनः निर्माण त्यसकै एउटा हाँगो हो ।’
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको कामलाई अझै बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा पुनःनिर्माण भएकामध्ये पिम्बाल पोखरीलाई धेरैले रुचाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यहाँको सम्पदा, विश्वसम्पदा सूचिमा सूचिकृत भएका स्थानहरुलाई जीवन्तता दिनका लागि र चाहिएको बेलामा यथोचित सहयोग गर्नको लागि भारत सरकार जसरी अग्रसरता देखाउनुभएको छ, त्यसको लागि ललितपुर महानगरको तर्फबाट मुरी मुरी धन्यवाद । जनताको सेवा गर्नको लागि हामी सदा सर्वदा तयार छौँ र गरिरहेका छौँ । अझै हामीले धेरै काम गर्न बाँकी छ । हामीले गरेको थुप्रै सम्पदा संरक्षणको काममा हामीलाई वल्र्ड बैंकको पियुआरपीपी अन्तर्गत पिम्बाल पोखरी निर्माण गरेका छौँ । काठमाडौं भ्याली भित्र देखाउन लायकको प्रोजेक्ट पिम्बाल हो ।’
नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत करिव ३.५ करोड रुपैयाँको लागतमा निर्मित ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको नेपालका लागि भारतीय राजदुत श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर महर्जनले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।