काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट यो वर्ष ६ जना पुरस्कृत हुने भएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औं वार्षिक उत्सवको अवसरमा आईतबार आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिहरुको नाम घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा आयोजित बार्षिक उत्सवमा पुरस्कृत व्यक्तिहरुको योगदानबारे चर्चा समेत गरिएकाे हाे । जस अन्तर्गत नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सङ्गीत विधातर्फ वरिष्ठ गायक तथा सङ्गीतकार गणेश रसिकलाई, लोक सङ्गीत विधातर्फ वरिष्ठ लोक गायक नविन किशोर राईलाई, परम्परागत तथा शास्त्रीय सङ्गीत विधा तर्फ वरिष्ठ सङ्गीत साधक विजय कुमार श्रेष्ठलाई प्रदान गरिने घोषणा गरिएको छ ।
यस्तै रङ्गमञ्च विधातर्फ वरिष्ठ नाटक निर्देशक भैरव क्षेत्रीलाई, नाटक विधा तर्फ नाट्यकर्मी प्रा. डा. रामचन्द्र पोखरेललाई र नृत्य विधातर्फ वरिष्ठ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने आईतबार घोषणा गरिएकाे हाे । यो पुरस्कारको राशी एक लाख १ रुपैयाँ र ताम्रपत्र रहेको सो प्रतिष्ठानकी सदस्य सचिब कुस्मा महरा (प्रगति)ले कार्यक्रममा जानकारी गराउनुभयाे । उनीहरुलाई एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सो पुरस्कार प्रदान गरिने पनि उहाँले बताउनुभयाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुदन किरातीले गीत सङ्गीतका मार्फत जनतालाई जगाउने अभियानले गणतन्त्र स्थापनाको लागि महत्वपूर्ण योगदान पुर्याउन अब संस्कृति क्षेत्रमा ठूलो अभियान चलाउनु पर्छ भन्नुभयाे । त्यसका लागि सरकारले नीति तथा कार्यक्रममा नयाँ कुराहरु ल्याउने तयारी गरिरहेको पनि उहाँले बताउनुभयाे । उहाँले पुरस्कृत श्रष्टाहरुलाई बधाई ज्ञापन गर्दै यो पुरस्कारले उहाँहरुमा अझ उर्जा थप्ने विश्वास आफुले लिएको बताउनुभयाे ।
सो प्रतिष्ठानकी कुलपति निशा शर्माले हरेक वर्ष झैं यसपटक पनि सङ्गीत, नाटक तथा नृत्य विधाबाट ६ जना श्रष्टालाई पुरस्कृत गर्न लागिएको कार्यक्रममा बताउनुभयाे । २०६७ साल बैशाख १० गते स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाली गीत संगीत, नृत्य तथा नाटकको क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको पनि उनले कार्यक्रममा बताउनुभयाे । सरकारले आफू लगायत प्राज्ञ परिषद र प्राज्ञ सभामाथि गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने दाबी समेत उहाँले गर्नुभयाे । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा आजीवन योगदान सम्मान एक जना विशिष्ठ स्रष्टा सर्जकलाई प्रदान गरिने पनि उहाँले जानकारी गराउनुभयाे ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग मिलेर सहकार्य गर्ने योजना सुनाउनुभयाे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले सबैलाई स्वागत गर्दै मुलुकको मौलिक संस्कृतिको जगेर्ना गर्न सोही अनुसारको नीति बनाएर आफुहरु सक्रिय रुपमा अघि बढ्ने बताउनुभयाे ।
कार्यक्रममा वरिष्ठ निर्देशक तथा नृत्यकार भैरवबहादुर थापा, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, म्यूजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, रोयल्टी सँकलन समाजका अध्यक्ष सुरेश अधिकारीले १३ औं वार्षिक उत्सवको अवसरमा प्रतिष्ठानलाई बधाई दिँदै यो क्षेत्रमा अझ राम्रा काम गर्न सुझाब दिनुभयाे ।
१३ औं वार्षिक उत्सब समारोहमा आयोजित सांस्कृतिक कार्यक्रममा उदिराम खड्काले मयुर नृत्य, प्राज्ञ शान्ति कठायत र उहाँको समुहले देशभक्ति गीतमा नृत्य गर्नुभयाे । यस्तै लोक गायक राजु परियार र प्राज्ञ परिषद सदस्य टिका पुनले लोक गीत सुनाउनुभयाे । प्राज्ञ डक्टर किरात राईको संयोजनमा विभिन्न कलाकारहरुले शास्त्रीय यमन राग प्रस्तुत गर्नुभयाे ।