काठमाडौं । १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत विज्ञ, पेशागत संगठन तथा युवा अभियान्ताहरुको दुई दिने राष्ट्रिय युवा सम्मेलन काठमाडौँ सम्पन्न भएको छ । समापनको अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा नेपाल सरकारले गर्नुपर्ने धेरै नीतिगत कार्यहरु बाँकी रहेको र यो सरकार सो प्रक्रियामा अगाडि बढेको बताउँनु भयो । उहाँले दुई दिने सम्मेलनद्वारा पारित काठमाडौँ धोषणापत्रलाई यथासक्य छिटो निती र कार्यक्रमसंग जोड्ने प्रतिवद्धता जनाउनु भयो ।
युथ फर रोड सेफ्टी इन नेपाल अभियानको व्यवस्थापनमा शुक्रवार देखि काठमाडौंमा प्रारम्भ भएको सो कन्फ्रेन्सले दिगो पुर्वाधार निमार्ण, गुणस्तरिय र डबल हेल्मेट प्रयोग, सुरक्षा उपकरणमा अनुदान, आवश्यक कानुन निर्माण र कार्यान्वयन, नीति निर्माणमा युवा सहभागिता, पोस्ट क्र्यास रेस्पोन्स, दुर्घटना पीडितलाई सम्बोधन, दिगो र वातावरणमैत्री यातायात, अन्तर्राष्ट्रिय डाइभिङ परमिट, दक्ष र पारदर्शी यातायात प्रशासन, अन्तरसरकारी समन्वय र पेशागत समुदायको संलग्नता, स्पिड म्यानेजमेन्ट तथा सुरक्षित विद्यालय क्षेत्र, अटोल्यान्ड र गाडीको गुणस्तर, प्रोएक्टिभ राजनीतिक प्रतिबद्धता र अधिकारसम्पन्न सडक सुरक्षा परिषद् गठनजस्ता मागसिहत घोषणा पत्र जारी गरेको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा आयोजित यस सम्मेलनका सहभागीहरुले आफै समाजको मोडल बन्ने, सडक सुरक्षा मोटिभेटर बन्ने र नागरिक समुदाय परिचालन गर्ने लगायत विषयमा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेसनल युथ कन्फेन्स फर सेफ एण्ड सस्टेनेवल मोबिलिटी शिर्षक सो राष्ट्रिय युवा सम्मेलनको कार्तिक ३० गते युवा तथा खेलकुंद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नु भएको थियाे ।