पोखरा । पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जु गाहामगर (सुशान्त) लाई सम्मान गरेको छ ।
पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरेको हो ।
गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले ढाकाको टोली, दोसल्ला, नगद राशी तथा सम्मानपत्र अर्पण गर्नुभयाे ।
सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख सरस्वती चिदीले आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयाे ।उहाँले प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण इतिहास रहेको बताउँदै अन्य खेलाडीहरुलाई प्रेरणा मिल्ने बताउनुभयाे । ‘हाम्रो गाउँपालिकाको खेलाडी जो लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण कुरा हो, उहाँले भन्नुभयाे, यहाँहरु जस्तो खेलाडीकै कारण उदीयमान खेलाडीहरुलाई थप प्रोत्सहान मिल्छ ।
आगामी दिनमा अझ उत्तरोत्तर प्रगतीको कामनासमेत व्यक्त गर्दछु ।’ प्रमुख चिदीमगरले स्वस्थ्य शरिरका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै अनुशासनको मर्यादामा रहनसमेत मद्दत पुर्याउने धारणा व्यक्त गर्नुभएकाे थियाे । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा टिम इभेन्ट तर्फ सम्मानित गाहामगरले लुम्बिनी प्रदेशको तर्फबाट प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिम इभेन्टतर्फ लुम्बिनीलाई कास्य पदक दिलाउनुभएकाे थियाे ।
गाहामगर खेलसँगै पत्रकारितामासमेत सक्रिय हुनुहुन्छ । उहाँ पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकममा समाचार प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ भने एबिसी न्यूज टेलिभिजनका पोखरा संवाददातासमेत हुनुहुन्छ ।