काठमाडौं । लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने भएको छ । सो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताउनुभएकाे छ ।
मँगलबार काठमाडौंको रिपोटर्स क्लबमा पत्रकार भेटघाट आयोजना गर्दै सो महाधिवेशनको तयारी पुरा भएको उहाँले जानकारी गराउनुभयाे । यस पटकको महाधिवशेनमा अध्यक्ष लगायतका केही पदहरु सहमतीमा निर्विरोध चयन हुने विश्वास पनि अध्यक्ष बिजीले कार्यक्रममा व्यक्त गर्नुभयाे ।

देशभरीबाट २६ हजार १ सय १८ जना सदस्य रहेको यो प्रतिष्ठानको अधिवेशनबारे अध्यक्ष बिजीले भने,‘खर्च कम गर्नका लागि पनि हामीले महाधिवशेन ३ दिनको लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुँगो लगाउने छौं ।’ उहाँले अगाडि थप्नुभयाे,‘१२ गते रातभरको प्रयास पछि हामी १३ गते मतदान कार्य गर्नेछौं र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने छौं ।’पत्रकार सम्मेलनमा प्रतिष्ठानको प्रेस विज्ञप्ति बाचन गर्दै अध्यक्ष बिजीले भन्नुभयाे ,‘नेपाल एक विविधताले भरिएको विश्वकै सुन्दर देश हो ।
यहाँका कला, संस्कृति, गीत, संगीत, भाषा, धर्म, जनजाति,भेषभुषा, खाना, भुगोल विश्वमा परिचित छ । त्यस्तै मध्ये एक लोक तथा दोहोरी गीत हो ।’ विश्वभर रहेका नेपालीमाझ सगरमाथा जत्तिकै पहिचान बोकेको संस्थाहो राष्ट्रिय लोक तथा दोहोरी गती प्रतिष्ठान नेपाल भएको पनि उहाँले बताउनुभयाे ।
कोरोनाको महामारी बीच पनि आफ्नो कार्यकालमा थुप्रै उत्कृष्ट कार्यहरु भएको पनि अध्यक्ष बिजीले बताउनुभयाे । प्रतिष्ठानले
काठमाडौंको टोखामा आफ्नै पहलमा जग्गा खरिदगरि आफ्नो कार्यालय स्थापना गरेको पनि उहाँले जानकारी गराउनुभयाे,‘कार्यालयमा हामीले नव कलाकर्मी र प्रतिभाहरुलाई प्रशिक्षण तथा आफ्ना गतिविधि सञ्चालन गरिरहेका छौं ।’ उहाँले भन्नुभयाे ।
अध्यक्ष बिजीका अनुसार यो महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रिय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् र पदाधिकारी चयन गर्नेछन् ।
प्रतिष्ठानका महासचिब सुवास केसीका अनुसार २०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेको छ ।
प्रतिष्ठानमा हाल २३ हजार ३२२ जना साधारण सदस्य र २ हजार ७७३ र २३ जना आजीवन सदस्य रहेको पनि उहाँले बताउनुभयाे । यस्तै प्रतिष्ठानमा मानार्थ सदस्यसहित जम्मा २६ हजार १ सय १८ जना कलाकार आबद्ध छन् ।
महासचिब केसीले भन्नुभयाे,‘मुलुक संघीयतामा गएको र उक्त शासकीय व्यवस्थालाई प्रतिष्ठानले पनि स्वीकार गरेकाले प्रदेशस्तरमा पनि हामी केन्द्रमाजत्तिकै हैसियतमा उपस्थित हुन चाहेका छौँ ।’ उहाँले अगाडि थप्नुभयाे,‘दुईवटा प्रदेश र १२ जिल्लामा हामीले अहिलेसम्म आफ्नै भवन बनाउने प्रक्रियामा सिलन्यास गरिसकेका छौँ ।
त्यस्तै एक व्यवस्थित आकर्शक लोक संग्रहालय सञ्चालन गर्ने अभियान पनि थालेका छौँ ।’यस्तै पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पँगेनीले प्रतिष्ठानले देश बिदेशमा रहेका नेपाली लोक गायन क्षेत्रका कलाकारलाई समेटेर लोक संगीतको विकाशमा ठुलो योगदान पुर्याएको बताउनुभयाे । प्रतिष्ठानमा कुनै पनि फुटको सँभावना नरहेको पनि उहाँले दाबी गर्नुभयाे । प्रतिष्ठानको बारेमा चित्त दुखाएका कलाकार साथीहरुलाई आफुहरुले फकाएर आउँदो समय सँगै अघि लैजाने प्रतिवद्धता पनि उहाँले जनाउनुभयाे ।