उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनिय रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योग मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले हस्तकला व्यवसायीहरुलाई सरकार सहयोग गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । मन्त्री रिजालले हस्तकलाका वस्तुहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताउनु भयो । उहाँले नेपाली हस्तकला क्षेत्रले हस्तकला वस्तुहरुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपाली हस्तकला क्षेत्रले हस्तकला बस्तुहरुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्नुको साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान एवं गरिमालाई उच्च राख्न पुर्याएको योगदान प्रशंसनिय छ । हस्तकला क्षेत्रले नेपालको आर्थिक र समाजिक विकासको साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनमा हस्तकला वस्तुहरुको उल्लेखनिय योगदान रहेको छ । हस्तकला उद्योग व्यवसायीहरुलाई सहयोग गर्न प्रतिवद्ध छ । नेपाल सरकारले हालै स्वीकृत गरिएको नेपाल व्यापार रणनीति २०८०ले हस्तकलाका सामग्रीहरुलाई उदयमान वस्तुहरु तथा भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको छ ।’
उहाँले सरकारले हालै स्वीकृत गरेको नेपाल व्यापार रणनीति २०८० ले हस्तकलाका सामग्रीहरुलाई भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको उल्लेख गर्नुभयो ।