भरतपुर । राष्ट्रिय अपाङ्ग कोष, भृकुटीमण्डप, काठमाण्डौँको आयोजना तथा अपाङ्ग समाज चितवनको समन्वयमा शारीरिक
पुनर्स्थापना गतिविधी अन्तर्गत स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँचको बिषयमा चितवन जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरुसँग छलफल कार्यक्रम आज भरतपुरमा सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना सेवामा पहुँचको लागि स्थानिय तहमा सञ्चालित अपाङ्गता भएका व्यक्तिका
स्वावलम्बी संस्था तथा सरोकारवालाहरुसँग मिलेर सबैका लागि पुनर्स्थापना सेवा उपलब्ध गराउनका लागि समबुझाई र
समधारणा बन्न सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

चितवनमा बिगत २ बर्षदेखी ह्विलचियर लगायतका सहायक सामाग्रीहरु वितरणमा कमी आएको, कृतृम हातखुट्टा,
बिशेष कुर्सी, गतिशिलताको लागि आवश्यक सामाग्री प्रयोगकर्ताहरुको संख्या बढेको र सो ले गर्दा सहायक सामाग्री तथा
समग्र पुनर्स्थापना सेवामा बजेट वृद्धिको आवश्यकता रहेको भन्दै छलफलमा सहभागीहरुले संघीय सरकारसँग सहायक
सामाग्री तथा पुनर्स्थापना सेवामा बजेट वृद्धि गर्न कोषले नितीगत रुपमा नेतृत्व गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले बहुबिषयगत पुनर्स्थापनाको लागि मानव स्रोतको अभाव, स्वास्थ्य बिमामा पुनर्स्थापना सेवा समेट्न नसकिएको
तथा सहायक सामाग्री आवश्यक भएकालाई नापजाँच तथा प्रशिक्षण बिना नै सहायक सामाग्री बितरण भइरहेको बताउँदै
सहायक सामाग्री आवश्यक परेकालाई उपलब्धता सुनिश्चित गरिएको बित्त र खरिद नितीहरु कार्यान्वयन गर्नका लागि
सरकारसँग कुनै योजना नहुनु पुनर्स्थापना सेवाको लागि चुनौती रहेको बताए ।



सहभागीहरुले स्थानिय तहले जनसंख्या अनुसार पुनर्स्थापना सेवाको बितरण गर्न उचित स्रोतको बिनियोजन र आवश्यक
सहजिकरण गर्नुपर्ने आवश्यकता रहेतापनि सो हुन नसकेकोले सबैको लागि पुनर्स्थापना सेवा उपलब्ध गराउनका लागि
सबै संघसंस्था र निकायहरुले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषको प्रशासन अधिकृत सुनिता पौडेलले कोषले देशभर दिइरहेको सेवा र भावी योजनाको
बिषयमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो भने फिजियोथेरापिष्ट साजन मानन्धरले पुनर्स्थापना सेवाको
राष्ट्रिय परिवेश र स्थानिय तहका संघसंस्थाहरुले स्थानिय तहसँग मिलेर खेल्न सक्ने भूमिकाको बिषयमा जानकारी
गराउनुभएको थियो ।
उक्त छलफलमा चितवनमा रहेका अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी संस्थाहरुको तर्फबाट मन्तव्य दिनुहुँदै
अपाङ्गता उत्थान जिल्ला समन्वय समितीका संयोजक निर्मल कुमार श्रेष्ठले पुनर्स्थापना सेवा सबै वर्ग र प्रकारका
अपाङ्गता भएका व्यक्तिहरुलाई अत्यावश्यक भएतापनि सिमित स्रोत साधनको कारण सेवामा सिमितता हुन पुगेको
बताउनुभयो । उहाँले स्थानिय तहले बजेट बिनियोजन गर्दा तथा संघीय सरकारसँग बिभिन्न माग गर्दा पुनर्स्थापना सेवा
सम्बन्धी कार्यक्रम भने छायाँमा परेकोले यसका लागि सबै सरकारी निकाय र संघसंस्थाहरुले मिहिन गृहकार्य गर्नुपर्ने र
नीजि क्षेत्रको सामाजिक उत्तरदायित्व शीर्षकबाट पनि पुनर्स्थापना सेवामा सहयोग प्राप्त हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सभाध्यक्ष समेत रहनुभएको राष्ट्रिय अपाङ्ग कोषका सभापती डेकराज भट्टराईले सहायक सामाग्री तथा
पुनर्स्थापना सेवाको बिषयमा सरकारको बिभिन्न निकाय र नेतृत्वमा रहेका व्यक्तिहरुको लागि नौलो भएको र कतिपयले
यस बिषयलाई बुझ्न नै नचाहेको देखिएकोले कोषले सबैको लागि पुनर्स्थापना भन्ने मुद्धालाई सार्थकता दिन संघिय तहमा
नीति निर्माणका लागि पर्याप्त पैरवी गरिरहेको जानकारी दिनुहुँदै पुनर्स्थापना सेवालाई सर्वसुलभ बनाउनका लागि कोष र
सरोकारवाला संघसंस्था तथा सहायक सामाग्री प्रयोगकर्ताहरुले गोलबद्ध भई बिभिन्न तहका सरकारसँग आवश्यक
समन्वय, सहकार्य र पैरवीलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा अपाङ्गता उत्थान जिल्ला समन्वय समितीका संयोजक तथा बौद्धिक अपाङ्गताको अभिभावक संघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठ, अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारी, सल्लाहकार समितिका संयोजक बालकृष्ण श्रेष्ठ, चितवन नेत्रहिन संघका अध्यक्ष सञ्जय अर्याल, चितवन बहिरा संघको अध्यक्ष बिष्णु पौडेल,अपाङ्ग जागरण अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठ, सुषुम्ना नाडी घाइते मैत्रिय समाजको अध्यक्ष लक्ष्मी अधिकारी,अटिजम केयर चितवन सोशाइटीका सचिव सुनिलचन्द्र शर्मा, हेमोफेलिया सोशाइटी बागमती प्रदेशका अध्यक्ष सन्तोष वाग्ले, अपाङ्गता अधिकार संरक्षण केन्द्र चितवनका अध्यक्ष यम प्रसाद सूवेदी, रेबिका बाल प्रतिष्ठान चितवनको अध्यक्ष रुबी थापा, मष्तिष्क पक्षघात भएका व्यक्तिको लागि अभिभावकहरुको स्वावलम्बन समूह (दिवा स्याहार केन्द्र) का अध्यक्ष लक्ष्मीकान्त घिमिरे, चितवन अर्थो सहयोगी सामाग्री सेन्टरका प्रमुख बिष्णु अर्याल लगायत चितवनमा कृयाशिल
अपाङ्गता भएका व्यक्तिका स्वावलम्बी संघसंस्था तथा सहायक सामाग्री प्रयोगकर्ता एवं सरोकारवाला गरी २३ जनाको
सहभागीता रहेको थियो । छलफल कार्यक्रम अपाङ्ग समाज चितवनको सहसचिव मिलन खरालले सहजीकरण गर्नुभएको थियो ।