राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । साथै पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको पनि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।
उहाँले बैठकले गत पौष १० गते राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाहसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित हुनेगरी समर्थन गरेपनि राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक परिस्थितिमा हठात परिवर्तन हुँदा विद्यमान अवस्थामा राप्रपा सरकारमा रहीरहनु अनुपयुक्त नहुने ठहरसहित सरकारबाट बाहिरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी राप्रपाको केन्द्रिय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक आज बसेको छ । बैठकले गत पौष १० गते राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाहसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित हुनेगरी जुन राप्रपा समेतको सर्थनमा सरकार निर्माण भएको थियो र त्यो सत्ता गठबन्धनमा माघ ३ गते राप्रपा पनि समावेश भएको थियो ।
तर राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक परिस्थितिमा हठात परिवर्तन भएको हुँदा विद्यमान अवस्थामा राप्रपा सरकारमा रहीरहनु अनुपयुक्त हुने आजको बैठकको ठहर छ । बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । राप्रपाले समर्थन दिएको प्रदेशहरुमा र सरकारमा सहभागी भएको प्रदेशमा समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।’
पार्टीले प्रदेश सरकारमा दिएको समर्थन फिर्ता लिनुका साथै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।