राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म र देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताउनु भयो । उहाँले उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था रहेको बताउनु भयो । उहाँले धेरै उद्योग नेपालमा नबनेसम्म युवाहरु पलायन भइरहने बताउनु भयो । उहाँले औद्योगिक क्षेत्रको विकास, रोजगारको पूर्ण सहभागिता हुने किसिमको विकास गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म, उनीहरु यहाँ बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको साँच्चिकै विकास हुन सक्दैन । आज हर्ने हो भने उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था छ । जबसम्म हामीले उद्योगको विकास गर्न सक्दैनौँ, जबसम्म धेरै धेरै उद्योग म्यानुफ्याक्चरिङ उद्योग नेपालमा सिर्जना हुँदैन, तबसम्म पलायन भएको युवा शक्तिलाई हामी यहाँ रोजगार दिएर मातृभूमिमै सेवा गर्ने अवसर दिन सक्दैनौँ । त्यसैले साथीहरु सबैभन्दा ठूलो प्रतिवद्धता चाहे सरकार होस्, चाहे हामी, चाहे मजदुर होस् औद्योगिक क्षेत्रको विकास, रोजगारको पूर्ण सहभागिता हुने किसिमको विकास जबसम्म गर्न सक्दैनौँ, तबसम्म युवा यो मुलुकबाट पलायन हुन्छ, यो मुलुकले सच्चा प्रगति गर्न सक्दैन ।’सांसद जबराले मजदुरले काम गर्ने वातावरण सिर्जना नगरेसम्म देशको विकास सम्भव नरहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल