राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको बिरोधमा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको बिरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो । आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताउनु भयो । उहाँले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा आफूहरुले देखाउने बताउनु भयो । राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्रीलाई चुनौति दिन चाहन्छ, अब तपाइका आन्दोलन गर्ने दिन गए । जनताले प्रधानमन्त्री बनाएका हुन् । जनताको काम गरौँ । जनताको काम गर्न सक्दैनौँ भने राजीनामा दिएर थचक्क लाएर घरमा बसौँ । होइन भने ज्यादा फुरफुर नगरौँ । आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा हामीले देखाउँछौँ । राष्ट्रवादी शक्तिले देखाउँछौ । राष्ट्रियता, धर्म निरपेक्षताको बिरुद्धमा राष्ट्रियताको सवालमा हामी एकजुट छौँ । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुन्छ । त्यसको शुरुवात २७ गतेबाट सुरु हुन्छ । यो प्रधानमन्त्रीलाई खुला चुनौति हो ।’
प्रवक्ता शाहीले हिन्दुहरुको आस्थामाथि आक्रमण गरिएको भन्दै सो काम गर्नेहरु अतिवादी भएको बताउनु भयो । उहाँले हिन्दु धर्म र संस्कार मास्छु भनेर आउनेहरु अतिवादी र आतंकवादी भएको भन्दै उनीहरुलाई तह लगाउने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हिन्दुहरुले मान्दै आएको गाईलाई काटेर ७७ जिल्लामा पु¥याउँछु भन्ने तिनीहरु चाहीँ अतिवादी नहुने ए भाई हो यो हाम्रो आस्था हो । हाम्रो आस्थामाथि तिमिहरुले आक्रमण नगर न त भनेर कसैले कुरा राख्यो भने त्यो चाहीँ अतिवादी हुने । नेपालका केही मिडिया, केही मान्छेले चाहीँ हिन्दु अतिवादी भन्छन् । अतिवादी भनेको अर्काको घरमा गएर ढुंगाले हान्यो । तिनिहरुले मान्दै आएको धर्म, संस्कार जो विदेशी डलरे धर्म छ त्यसमा हामीले गएर भत्काइदिएपछि पो अतिवादी हुन्छ त । उनीहरु नै हाम्रो धर्म, संस्कार मास्छु भनेर आउने । हामीले मान्दै आएको गौमाताको हत्या गर्ने । अझ हामीलाई अतिवादी भन्ने ? तिनीहरु अतिवादी पनि हुन् । आतंकवादी पनि हुन् । अतिवादी र आतंकवादीलाई ठिक कसरी बनाउनुपर्छ भन्नेकुरा हामीलाई थाहा छ । राम्रोसँग ज्ञान छ । आतंकवादीहरु कसरी तह लागे नेपालमा त्यो कुरा प्रष्ट इतिहासले देखाएको छ । अतिवादी र आतंकवादले देश बन्दैन ।’उहाँले आफूहरु धर्म, संस्कृतिको रक्षामा लागेको भन्दै र्धम, संस्कृतिको रक्षा गर्दा अतिवादी नहुने बताउनु भयो ।